युवा उद्यमशीलता, नवप्रवर्तन र स्वरोजगारको विकास आजको नेपालको प्रमुख आवश्यकताः अध्यक्ष श्रेष्ठ (२०८३।०२।०३)

युवा उद्यमशीलता, नवप्रवर्तन र स्वरोजगारको विकास आजको नेपालको प्रमुख आवश्यकताः अध्यक्ष श्रेष्ठ (२०८३।०२।०३)
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष वेद बहादुर श्रेष्ठले युवा उद्यमशीलता, नवप्रवर्तन र स्वरोजगारको विकास नै आजको नेपालको प्रमुख आवश्यकता रहेको औंल्याउनु भएको छ । भक्तपुर उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको संयुक्त आयोजनामा भएको “स्टार्टअप र नवप्रवर्तन उद्यमी विकास सम्मेलन २०८३” लाई सम्बोधन गर्नुहुँदै उहाँले वर्तमान विश्व अर्थतन्त्र तीव्र गतिमा परिवर्तन भइरहेको अवस्थामा प्रविधि, नवप्रवर्तन र सिर्जनशील सोचले नै अर्थतन्त्रको दिशा तय गर्ने बताउनुभयो । नेपालमा पनि युवाहरूमा नयाँ सोच, नयाँ व्यवसाय र स्टार्टअप संस्कृति प्रति आकर्षण बढ्दै गएको तर त्यसलाई सफल बनाउन नीतिगत सहजता, लगानी पहुँच, सीप विकास, प्रविधि हस्तान्तरण र बजार सुनिश्चितता अत्यन्त आवश्यक रहेको बताउनुहुँदै उहाँले बागमती प्रदेश सरकारको आफ्नै स्टार्टअप नीति बनाईनु पर्नेमा जोड दिनुभयो । 
बागमती प्रदेश उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री माननीय विन्दु श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको सम्मेलनमा उहाँले स्टार्टअप तथा नवउद्यमलाई प्रोत्साहन गर्न सरकार र निजी क्षेत्रबीच अझ प्रभावकारी सहकार्य आवश्यक रहेको र यसकालागि बागमती प्रदेश उद्योग वाणिज्य महासंघ बागमती प्रदेश सरकारसंग सहकार्य गर्न हरदम तयार रहेको पनि बताउनुभयो ।
सम्मेलनको समुद्घाटन कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष, पदाधिकारी, कार्यकारिणी सदस्यहरु र उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रमुख एवम् प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।