सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री माननीय किरण थापामगर २०८३।०७।१६

सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री माननीय किरण थापामगर २०८३।०७।१६
बागमती प्रदेशका मुख्यमन्त्री माननीय किरण थापामगरज्यूले सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशद्वारा हेटौँडामा आयोजित मुख्यमन्त्री तथा मन्त्रीको सम्मान एवं छलफल कार्यक्रममा उहाँले राज्यको समुन्नतिकालागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य हुने बताउनुभयो । बागमती प्रदेश सबैभन्दा बढी उद्योग र उद्योगी व्यवसायी भएको प्रदेश भएको उल्लेख गर्नुहुँदै उहाँले उद्योग क्षेत्रले भोग्दै आएका समस्या समाधान गर्दै लगानीमैत्री वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उद्योग तथा कलकारखानाबाट प्राप्त हुने कर नै सरकार सञ्चालनको महत्वपूर्ण आधार भएको उल्लेख गर्नुहुँदै उहाँले प्रदेश सरकार करको दर बढाउनुभन्दा पनि करको दायरा विस्तार गर्न केन्द्रित रहेको उहाँले स्पष्ट पार्नुभयो । उद्योगी व्यवसायीले बैंकको ब्याजदर, दक्ष कामदारको अभाव, मजदुर हड्ताल तथा उद्योग सञ्चालन भइरहेका बेला स्थानीयस्तरबाट हुने अवरोधलगायत समस्या भोग्नुपरे तापनि स्वदेशमै लगानी गरेर नेपालीलाई रोजगारी दिने काममा उद्योगी व्यवसायी लागिरहनुु प्रशंसायोग्य भएको बताउनुभयो । उद्योगी व्यवसायीले भोग्दै आएका समस्या समाधान गर्दै निजी क्षेत्रलाई लगानीमैत्री वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुहुँदै उहाँले संकटको समयमा बजारमा कृत्रिम अभाव हुन नदिन नेपाल उद्योग वाणिज्य महासंघले खेलेको भूमिकाको पनि प्रशंसा गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष वेद बहादुर श्रेष्ठज्यूको सभाध्यक्षतामा भएको बधाई तथा छलफल कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै अध्यक्ष श्रेष्ठले सरकार र निजी क्षेत्रबीचको सम्बन्ध केवल नियमन गर्ने र नियमनमा रहने पक्षको सम्बन्ध हुनु नहुने बरु यो साझा उद्देश्यकालागि काम गर्ने सहकार्यको सम्बन्ध हुनुपर्ने बताउनुभयो । सरकारले नीति, पूर्वाधार, सुरक्षा, सुशासन र सहज व्यावसायिक वातावरण उपलब्ध गराउने तथा निजी क्षेत्रले लगानी, उत्पादन, रोजगारी र सेवा विस्तार गर्ने हो भने बागमती प्रदेशको आर्थिक विकासले गति लिने र प्रदेश सरकारसँग यही प्रकारको विश्वासपूर्ण र परिणाममुखी साझेदारीको अपेक्षा राखेको पनि उहाँले बताउनुभयो । सरकार र निजी क्षेत्रबीच सार्वजनिक निजी साझेदारी अवधारणामा सानादेखि ठूला परियोजनामा सहकार्य गर्न सकिने बताउनुहुँदै उहाँले लगानीमैत्री वातावरण निर्माण, रोजगारी र सीप विकास, उद्योग र स्थानीय उत्पादनको प्रवद्र्धन, पर्यटन र पूर्वाधार विकास, साना तथा मझौला उद्यमको संरक्षण र विस्तारका विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । मन्तव्यको क्रममा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री माननीय राजेन्द्र प्रजापतिज्यूले उद्योगी व्यवसायीका समस्या समाधानकालागि केन्द्रीय सरकारसम्म पनि आफूले पहल गर्ने बताउनुभएको थियो । धार्मिक पर्यटनदेखि उद्योग व्यवसायको विकासमा निजी क्षेत्र र सरकारको सहकार्य जरुरी रहेको पनि उहाँले बताउनुभयो । त्यसैगरी विशिष्ट अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठज्यूले भूकम्प, नाकाबन्दी, कोभिड, बाढीलगायतका कारणले शिथिल भएको उद्योग व्यवसाय क्षेत्रलाई उकास्न निजी क्षेत्रलाई सरकारले हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताउनुभयो । साना तथा मझौला उद्योगदेखि महिला उद्यमी र स्टार्टअप देखि नवप्रवर्तन व्यवसायसम्मको प्रवद्र्धनकालागि सरकारले निजी क्षेत्रसंग सहकार्य गरेर अघि बढ्न सके यसले बाँकी सबै प्रदेशमा सकारात्मक सन्देश जाने विचार व्यक्त गर्नुभयो । 
कार्यक्रममा मुख्यमन्त्री माननीय किरण थापामगर, स्वास्थ्य तथा सामाजिक विकास मन्त्री माननीय गिर बहादुर तामाङ्ग, भौतिक पूर्वाधार विकास मन्त्री माननीय भरत बहादुर के.सी., खानेपानी, उर्जा तथा सिंचाई मन्त्री माननीय राजु विष्ट, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री माननीय राजेन्द्र प्रजापति, कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री माननीय रमा आलेमगरज्यूलाई अध्यक्ष वेद बहादुर श्रेष्ठज्यूले बधाई पत्रले सम्मानित गर्नुभएको थियो ।
बधाई कार्यक्रमपश्चात प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. देवराज रोका कल्याणज्यूले उद्योग, व्यापार, पर्यटन, रोजगारी तथा लगानी प्रवद्र्धनमा निजी क्षेत्रसंग सरकारको सहकार्य सम्बन्धी अवधारणा पेश गर्नुभएको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका बस्तुगत उपाध्यक्ष प्रेमहरि मैनालीज्यूले संचालन गर्नुभएको र जिल्ला नगर उपाध्यक्ष कृष्ण कुमार गुप्ताज्यूले धन्यवादज्ञापन गर्नुभएको बधाई तथा छलफल कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष, पदाधिकारी, कार्यकारिणी सदस्य, विभिन्न मन्त्रालयका सचिवज्यूहरु, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका पदाधिकारी तथा कार्यकारिणी सदस्यहरू, जिल्ला तथा नगर उद्योग वाणिज्य संघ र बस्तुगत संघका प्रतिनिधि, विभिन्न विषयगत समितिका सदस्य एवं उद्योगी व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

Recent Press Releases