दोलखा उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमण टोलीको स्वागत । २०८३।०८।०६

दोलखा उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमण टोलीको स्वागत । २०८३।०८।०६
नेपाल उद्योग वाणिज्य महासंघलगायत विभिन्न जिल्ला नगर उद्योग वाणिज्य संघहरुको अध्ययन अवलोकन भ्रमणमा निस्केको दोलखा उद्योग वाणिज्य संघको टोलीलाई नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशले स्वागत गरेको छ । टोली नेता दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सनत थापाज्यूको नेतृत्वमा आउनुभएको २७ सदस्यीय टोलीलाई प्रदेशको राजधानी हेटौंडामा स्वागत गरिएको हो । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका जिल्ला नगर उपाध्यक्ष कृष्ण कुमार गुप्ताज्यूको सभाध्यक्षतामा सम्पूर्ण सहभागीहरुलाई खादा लगाई भएको स्वागत तथा छलफल कार्यक्रममा दोलखाका अध्यक्ष थापाले नवनिर्वाचित कार्यसमितिले अन्य उद्योग वाणिज्य संघहरुको भ्रमण गरेर अनुभव आदान प्रदान गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो । दोलखा उद्योग वाणिज्य संघले गरेका गतिविधिहरुको बारेमा जानकारी प्रदान गर्नुहुँदै उहाँले उद्योग वाणिज्य संघहरुको दीगो आर्थिक श्रोतकालागि सदस्यता नविकरण र मेला महोत्सवसहित अन्य विकल्पहरुको बाटो प्रदेश महासंघले देखाउन आग्रह गर्नुभयो । प्रदेश सरकार र स्थानीय सरकारहरुसंगको सहकार्यको पाटोमा पनि मार्गदर्शन गराउन जोड दिनुहुँदै उहाँले दोलखाको कृषि, पर्यटन, हाइड्रोपावर, धार्मिक पर्यटन क्षेत्रको सम्भावना र लगानीमा विशेष जोड दिनुभयो ।
स्वागतसंगै आयोजित छलफल कार्यक्रममा दोलखा उद्योग वाणिज्य संघका महासचिव सुरेश कार्कीज्यूले उद्योगी व्यवसायीले प्रदेश र स्थानीय दुवै तिर दर्ता नविकरण गर्नु परिरहेको, स्थानीय सरकार आउनुअघिको व्यवसाय करमा साझेदारी अहिले नभएको, कार्ययोजना गोष्ठीमा सहजीकरण हुनुपर्ने लगायतका विषयहरु उठान गर्नुभएको थियो भने नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कार्यकारी निर्देशक विवेक मानन्धरज्यूले उद्योग वाणिज्य संघहरुले स्थानीय र प्रदेश सरकार दुवैसंग परस्पर सहकार्य गरी अघि बढ्नुपर्ने, मेलालाई सशक्त ढंगमा संचालन गर्नुपर्ने, सदस्यहरुलाई दुर्घटना बीमालगायतका सुविधा प्रदान गरी आकर्षिक गर्न सकिने, समयमै प्रदेश सरकारको बजेटकालागि प्रस्तावना पेश गर्नुपर्ने विषयहरुमा ध्यानाकर्षण गराउनुहुँदै स्थानीय निकायसंगको व्यवसाय करमा साझेदारीकोलागि प्रदेश तहदेखि केन्द्रीय तहसम्म पहल भईरहेको जानकारी गराउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य तथा दोलखा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवम् सल्लाहकार रामेश्वर मानन्धरज्यूले पनि विगतमा सरकार र निजी क्षेत्रको सहकार्यमा एक गाउँ एक उत्पादन, एक जिल्ला एक उत्पादन, हिमाली परियोजना जस्ता विभिन्न कार्यक्रमहरु आउने गरेकोमा अहिलेको अवस्थामा जिल्ला नगर उद्योग वाणिज्य संघहरुलाई कार्यक्रम आयोजना गर्न समेत धौ धौ परेकोमा चिन्ता व्यक्त गर्नुभयो ।              
एक आपसमा मायाको चिनो समेत आदान प्रदान गरिएको स्वागत तथा छलफल कार्यक्रमको अन्त्यमा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कार्यकारिणी सदस्य विष्णु खनालज्यूले अध्ययन अवलोकन भ्रमणको क्रममा सहभागी सबैले आ–आफ्नो व्यवसायको पनि संगसंगै प्रचारप्रसार गर्नुपर्ने, स्थानीय क्षेत्रमा स–साना उद्योग व्यवसायहरुको स्थापनाकालागि जिल्ला नगर उद्योग वाणिज्य संघहरुले पहल गर्नुपर्ने, संघहरु आफैले मेला महोत्सव गर्न जोड दिनुपर्ने लगायतका विषयहरु उठान गर्नुहुँदै धन्यवादज्ञापनसहित कार्यक्रम समापन गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका आमन्त्रित सदस्य सीतादेवी भेटवाल, महिला उद्यमी विकास समिति सदस्य सुनिता हाडा श्रेष्ठ, दोलखा उद्योग वाणिज्य संघका पदाधिकारी, कार्यसमिति सदस्यहरु र दुवै संस्थाका कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो । दोलखा उद्योग वाणिज्य संघको उक्त भ्रमण बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न जिल्ला नगर उद्योग वाणिज्य संघहरुको मंसिर १ गतेदेखि ६ गतेसम्म भ्रमण गरी समापन गर्ने कार्यक्रम रहेको छ ।
Releated Attachment : 1795339361_IMG_20261122_121919.jpg