नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीज्यूहरुको बधाई तथा छलफल कार्यक्रम सम्पन्न । २०८३।०७।१६

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीज्यूहरुको बधाई तथा छलफल कार्यक्रम सम्पन्न । २०८३।०७।१६
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशले केन्द्रीय महासंघका नवनिर्वाचित अध्यक्ष, पदाधिकारी र बागमती प्रदेशका कार्यकारिणी सदस्यहरुको सम्मानमा बधाई तथा छलफल कार्यक्रम हेटौंडामा सम्पन्न गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष वेद बहादुर श्रेष्ठको सभाध्यक्षमा भएको बधाई तथा छलफल कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा कार्यकारिणी सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै प्रदेश अध्यक्ष श्रेष्ठले निजी क्षेत्रको हकहित संरक्षण, उद्योग व्यवसायको प्रवद्र्धन र मुलुकको आर्थिक विकासमा महासंघले थप प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको थियो । निजी क्षेत्र मुलुकको अर्थतन्त्रको प्रमुख आधार भएको उल्लेख गर्नुहुँदै उहाँले उद्योगी व्यवसायीका समस्या समाधान, लगानीमैत्री वातावरण निर्माण तथा उद्यमशीलताको विकासकालागि महासंघ नेतृत्वले विशेष प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले संघीय, प्रदेश तथा स्थानीय सरकारसँग निजी क्षेत्रको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउनु हुँदै नीतिगत सुधार, व्यवसायमैत्री कानून निर्माण, उद्योग व्यवसायको सुरक्षा, कर प्रणालीमा सुधार, लगानी प्रवद्र्धन तथा उत्पादन र रोजगारी अभिवृद्धिका विषयमा महासंघले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । साथै महासंघका अध्यक्षको ६ स्तम्भ ६० पहल अवधारणालाई सबै मिलेर सफल बनाउन पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष सुरकृष्ण बैद्य, जिल्ला नगर उपाध्यक्ष दिल सुन्दर श्रेष्ठ, बस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठ, एशोसियट उपाध्यक्ष प्रबलजंग पाण्डे, कोषाध्यक्ष मनिषलाल प्रधान र बागमती प्रदेशबाट केन्द्रीय सदस्यमा निर्वाचित सुमन कुमार श्रेष्ठ, सविन श्रेष्ठ, प्रकाश मानन्धर, कृष्ण कटुवाल, ताराबहादुर कार्की, अर्जुन कुमार श्रेष्ठ, शंकर गिरीलाई बधाई पत्रद्वारा सम्मान गरिएको थियो । सोही अवसरमा विभिन्न जिल्ला नगर उद्योग वाणिज्य संघ र बस्तुगत संघका नवनिर्वाचित अध्यक्ष, पदाधिकारीहरुलाई पनि बधाई पत्रद्वारा सम्मानित गरिएको थियो । 
बधाई कार्यक्रमपश्चात राखिएको छलफल कार्यक्रममा विभिन्न जिल्ला नगर उद्योग वाणिज्य संघ, बस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारी, उद्योगी व्यवसायीहरुले वर्तमान आर्थिक अवस्थाको सुधार, भोटेकोशी बाढीपीडित व्यवसायीको पुनस्र्थापना, बैंकिङ तथा वित्तीय क्षेत्रका समस्या, लगानी विस्तार, उद्योग व्यवसायको संरक्षण, बजार व्यवस्थापन, कर तथा राजस्व प्रणाली, युवा एवम् महिला उद्यमशीलता, स्टार्टअप, नवप्रवर्तन र रोजगारी सिर्जनालगायतका विषयमा आ–आफ्ना धारणा तथा सुझाव प्रस्तुत गर्नुभएको थियो ।
बधाई तथा छलफल कार्यक्रम प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रको साझा समस्या समाधान गर्न सबै तहका सरकारसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँले निजी क्षेत्रको मनोबल उच्च बनाउने, लगानी विस्तार गर्ने, रोजगारी सिर्जना गर्ने तथा उद्योग व्यवसाय सञ्चालनका क्रममा देखिएका नीतिगत र व्यावहारिक समस्याको समाधानका लागि महासंघले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
बधाई तथा छलफल कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष दिल सुन्दर श्रेष्ठ र बरिष्ठ उपाध्यक्ष सुरकृष्ण बैद्यले पनि उद्योगी व्यवसायीको समाधानकालागि भईरहेका प्रयासहरुका बारेमा जानकारी गराउनुभएको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कोषाध्यक्ष रुद्र बहादुर खत्रीले संचालन गर्नुभएको र जिल्ला नगर उपाध्यक्ष कृष्ण कुमार गुप्ताले धन्यवादज्ञापन गर्नुभएको बधाई तथा छलफल कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष, पदाधिकारी, कार्यकारिणी सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका पदाधिकारी तथा कार्यकारिणी सदस्यहरू, जिल्ला तथा नगर उद्योग वाणिज्य संघ र बस्तुगत संघका प्रतिनिधि, विभिन्न विषयगत समितिका सदस्य एवं उद्योगी व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । 
निजी क्षेत्रका केन्द्रीय तथा प्रदेशस्तरीय नेतृत्वबीच आपसी सम्बन्ध, समन्वय र सहकार्यलाई थप सुदृढ बनाउँदै उद्योग व्यवसायको विकास र आर्थिक समृद्धिका साझा एजेन्डामा एकताबद्ध भएर अगाडि बढ्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

Recent Press Releases