सहकारी क्षेत्रको योगदानसंगै चुनौतीलाई पनि गम्भीरतापूर्वक लिन आवश्यकः अध्यक्ष श्रेष्ठ २०८३।०६।२८

सहकारी क्षेत्रको योगदानसंगै चुनौतीलाई पनि गम्भीरतापूर्वक लिन आवश्यकः अध्यक्ष श्रेष्ठ २०८३।०६।२८
सहकारी क्षेत्रको चर्चा गर्दा यसको योगदानसंगै यस क्षेत्रमा देखिएका चुनौतीहरूलाई पनि गम्भीरतापूर्वक लिन आवश्यक रहेको नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष वेद बहादुर श्रेष्ठज्यूले बताउनुभएको छ । सिन्धु कन्टेनर बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभाको समुद्घाटन गर्दै उहाँले केही संस्थामा देखिएका वित्तीय अनुशासनहीनता, कमजोर व्यवस्थापन, गैरउत्पादनशील क्षेत्रमा लगानी र सदस्यहरूको बचतको सुरक्षासम्बन्धी समस्याका कारण समग्र सहकारी क्षेत्रप्रति प्रश्न उठेको पनि बताउनु भएको छ। यस्तो अवस्थामा असल नियत, पारदर्शिता र जिम्मेवार व्यवस्थापनका साथ सञ्चालन हुने संस्थाहरूले आफ्नो विश्वसनीयता अझ बलियो बनाउनुपर्ने आवश्यकता रहेको र सहकारी केवल बचत गर्ने र ऋण लिने माध्यम मात्र नभई आपसी विश्वास, सहकार्य, आर्थिक आत्मनिर्भरता र सामूहिक समृद्धिको आधार पनि रहेको उहाँले बताउनुभयो । सहकारीको मूल मर्मलाई आत्मसात् गर्दै सदस्यहरूको आर्थिक तथा सामाजिक जीवनस्तर उकास्न संस्थाले निर्वाह गर्ने भूमिका निकै महत्वपूर्ण रहने बताउनुहुँदै उहाँले सहकारी संस्थाको वास्तविक सफलता यसको पूँजी वा कारोबारको आकारमा मात्र नभई सदस्यहरूले संस्थाप्रति गरेको विश्वास र उनीहरूको जीवनमा आएको सकारात्मक परिवर्तनमा मापन हुनुपर्ने बताउनुभयो । संस्थाले नियमित रूपमा वित्तीय विवरण सार्वजनिक गर्ने, ऋण लगानीलाई उत्पादनशील क्षेत्रमा केन्द्रित गर्ने, कर्जाको प्रभावकारी अनुगमन गर्ने, ऋण असुली र जोखिम व्यवस्थापनलाई प्राथमिकता दिने अभ्यासलाई संस्थागत गरी सदस्यहरूको बचत सुरक्षित राख्नु, ऋणको सदुपयोग सुनिश्चित गर्नु र संस्थालाई आर्थिक रूपमा सबल बनाउनु सञ्चालक समितिको प्रमुख जिम्मेवारी रहेको पनि बताउनुभयो । अहिले विद्यमान कानूनी व्यवस्थाका कारण सहकारी संस्थाहरुले भोग्नु परेका व्यावहारिक कठिनाई र सुधारका आवश्यकता बारे सरकारको पनि ध्यानाकर्षण गराउन जरुरी रहेको बताउनुहुँदै उहाँले नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशले पनि सम्बन्धित प्रदेश सरकारका मन्त्रालयमा आवश्यक सहजीकरणकालागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सिन्धु कन्टेनर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बच्चु पौडेलज्यूको सभाध्यक्षतामा काठमाडौंमा भएको कार्यक्रममा संस्थाका संचालक समिति, बचतकर्ता सदस्यहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।