नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशमा नयाँ कार्यकारिणी समिति । २०८२।१२।२५

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशमा नयाँ कार्यकारिणी समिति । २०८२।१२।२५
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशमा नयाँ कार्यकारिणी समितिको चयन भएको छ । नवौं प्रदेश सभा एवम् अधिवेशनपश्चात वेद बहादुर श्रेष्ठको नेतृत्वमा नयाँ कार्यकारिणी समिति चयन भएको हो । 
आगामी तीन वर्षका लागि अध्यक्ष श्रेष्ठ ६१.०५ प्रतिशत मतभारसहित निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धि दुर्गाराज श्रेष्ठले ३८.९५ प्रतिशत मत भार प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता केशवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा कृष्णकुमार गुप्ता निर्वाचित हुनुभएको छ । गुप्ता २१ मतसहित निर्वाचत हुँदा उहाँका प्रतिस्पर्धी कविराज खत्रीले १० मत प्राप्त गर्नुभयो । यस्तै वस्तुगततर्फको उपाध्यक्षमा प्रेमहरि मैनाली विजयी हुनुभएको छ । मैनाली १४ मतसहित निर्वाचित हुनु हुँदा उहाँका प्रतिस्पर्धी राजकुमार दाहालले ६ मत प्राप्त गर्नुभएको छ । कोषाध्यक्ष पदमा रुद्रबहादुर खत्री १३२ मतसहित निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी जीवनकाजी माकजु श्रेष्ठले ८२ मत प्राप्त गर्नुभएको थियो । निर्वाचित दुई उपाध्यक्ष र कोषाध्यक्ष वेदबहादुरको समूहबाट उम्मेदवार बन्नुभएको थियो । यसअघि एसोसियटतर्फको उपाध्यक्षमा कृष्णभक्त श्रेष्ठ, कार्यकारिणी सदस्यहरुमा बस्तुगततर्फ ज्योतिरत्न वज्राचार्य र सदिस श्रेष्ठ, जिल्ला तथा नगरतर्फ कृष्णमुरारी न्यौपाने, जयप्रकाश श्रेष्ठ, राजकुमार कंडेल, राजन कार्की र सनत थापा तथा एसोसियटतर्फ उत्तम शर्मा ढकाल र नविन्द्र देव सिं निर्विरोध निर्वाचित हुनुभएको थियो ।
अध्यक्षमा निर्वाचित भएपछि वेदबहादुर श्रेष्ठले आफूले निर्वाचनका क्रममा गरेका प्रदेश महासङ्घको भवन निर्माणलगायतका प्रतिबद्धता पूरा गर्न लाग्ने बताउनुभयो ।
निर्वाचनमा जिल्ला तथा नगरतर्फका ३१, एसोसियटतर्फका १६५, वस्तुगततर्फका २० जना गरी २१६ जनाले मताधिकार प्रयोग गरेका थिए ।