नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको नवौं प्रदेश सभा एवम् अधिवेशन सफलतापूर्वक सम्पन्न । २०८२।१२।२३–२४
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष श्री दिल सुन्दर श्रेष्ठज्यूको सभापतित्व, नेपाल सरकार बागमती प्रदेशका मुख्यमन्त्री माननीय ईन्द्र बहादुर बानियाँज्यूको प्रमुख आतिथ्यता, नेउवामहासंघका उपाध्यक्षद्वय श्री सुरकृष्ण बैद्यज्यू, श्री हेमराज ढकालज्यू एवम् पूर्व उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष श्री दिनेश श्रेष्ठज्यूको विशेष आतिथ्यता, नेउवामहासंघका केन्द्रीय सदस्यज्यूहरु, विभिन्न जिल्ला नगर उद्योग वाणिज्य संघहरुका अध्यक्ष एवम् प्रतिनिधिज्यूहरु, विभिन्न बस्तुगत संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिज्यूहरु, एशोसियट सदस्य संस्थाका प्रमुख एवम् प्रतिनिधिज्यूहरु, पर्यवेक्षकज्यूहरु र संचारकर्मीज्यूहरुको वृहत सहभागितामा नवौं प्रदेश सभा सम्पन्न भएको छ ।
प्रमुख अतिथि नेपाल सरकार बागमती प्रदेशका मुख्यमन्त्री माननीय ईन्द्र बहादुर बानियाँज्यूले शुभकामना मन्तव्य राख्नुहुँदै नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको नवौं प्रदेश सभा एवम् अधिवेशनको पूर्ण सफलताको शुभकामना व्यक्त गर्नुभयो । देशको राजधानीको पनि राजधानी हेटौंडामा पाल्नुभएका सबै महानुभावहरुलाई स्वागत गर्नुहुँदै उहाँले संघीय सरकारले सडक विस्तारबाट पीडित घरधनी र व्यवसायीहरुलाई राहत प्रदान गरिनुपर्ने बताउनुभयो । राजनीति न्याय अन्यायका लागि र व्यवसाय नाफा नोक्सानकालागि हुने बताउनुहुँदै उहाँले शासन चलाउनेले जनताको चाहना अनुसार राज्यसत्ता चलाउनुपर्ने र निर्दयी हुन नहुने बताउनुभयो । अहिलेको संघीय सरकार जनता र निजी क्षेत्रको ठूलो आशा बोकेको सरकार भएकोले जनताको आशा अनुरुप नै काम होस् भन्ने चाहेको र प्रदेशलाई बोझको रुपमा नलिई ओजको रुपमा लिनुपर्ने बताउनुभयो । प्रादेशिक मन्त्रालय बढीमा ८ वटा बनाउनुपर्ने विषयमा आफूले तयारी गरिरहेको बताउनुहुँदै सरकार र निजी क्षेत्र साथमा अघि बढ्नुपर्ने पनि बताउनुभयो । सातै प्रदेशमा कुन प्रदेश बढी अव्वल हुने भन्नेतिर लाग्न सके पहिचानसहितको प्रतिस्पर्धा हुने बताउनुहुँदै गरिखाने वर्ग पहिचान र निर्माण गर्नमा सरकार लाग्न सके देशले छिट्टै काँचुली फेर्न सक्ने पनि उहाँले बताउनुभयो । निजी क्षेत्रले तिरेका राजस्वबाट नै देश चलिरहेको बताउनुहुँदै उहाँले निजी क्षेत्रलाई बलियो बनाउन सरकार लागिपर्नु पर्ने उहाँले बताउनुभयो । लोकतन्त्र भनेको प्रतिस्पर्धात्मक व्यवस्था भएको बताउनुहुँदै उहाँले अबको केन्द्र र प्रदेश दुवैको नयाँ नेतृत्वले निजी क्षेत्रको समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सकोस् भन्ने शुभकामना पनि व्यक्त गर्नुभयो ।
सभामा स्वागत मन्तव्य राख्नु हुँदै नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष तथा प्रदेश सभाका सभापति श्री दिल सुन्दर श्रेष्ठज्यूले मकवानपुरका सडक विस्तारको क्रममा घरधनी व्यवसायीहरुलाई राज्यले विस्थापित गरेकोमा कडा आपत्ति जनाउनुभयो । २०२६ सालदेखि चेम्बर आन्दोलनमा सकृय रहँदै दुई कार्यकाल नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको अध्यक्षको रुपमा नेतृत्व सम्हाल्ने क्रममा विभिन्न सरकारी गैरसरकारी निकायहरुसंगको सहकार्यमा विविध कृयाकलापहरु आयोजना गरेको स्मरण गराउनुभयो । नेतृत्व परिवर्तनको संघारमा आफू अझै पनि निजी क्षेत्रको समृद्धि र विकासकालागि केन्द्रमा जिल्ला नगर उपाध्यक्ष पदमा उम्मेद्वारी दिएको बताउनुहुँदै उहाँले प्रदेश उद्योग वाणिज्य महासंघको सचिवालय स्थापनार्थ शुरुवाती समयमा मकवानपुर उद्योग वाणिज्य संघले पुर्याएको सहयोगकालागि धन्यवाद ज्ञापन गर्नुभयो । सचिवालयलाई सुदृढ बनाउन सहयोग पुर्याउनु हुने सम्पूर्ण पदाधिकारी, कार्यकारिणी समिति सदस्यज्यूहरु र कार्यकारी निर्देशकज्यूलाई हार्दिक धन्यवाद व्यक्त गर्दै उहाँले हेटौंडा उपमहानगरपालिकाबाट प्राप्त जग्गामा बाउण्ड्री लगाई सकेर पछि जग्गा फिर्ता लिने निर्णय भएकोमा आफू दुखित भएको बताउनुभयो । आगामी कार्यकारिणी समितिले सचिवालय निर्माणको लागि जग्गा र भवन बनाउन पहल गरिदिन आग्रह गर्नुहुँदै उहाँले आफ्नो कार्यकालमा विभिन्न समितिहरु मार्फत भएका कार्यक्रमहरुको पनि मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।
जिल्ला नगर उवासंघहरुको क्षमता अभिवृद्धिकालागि आफूले जिल्ला नगर उपाध्यक्ष पदमा उम्मेद्वारी दिएको बताउनुहुँदै उहाँले विगतमा जिल्ला नगरको आवाज केन्द्रबाट नसुनिएको भन्ने समस्या नयाँ केन्द्रीय कार्यकारिणी समितिले सोको समाधान गर्ने पनि बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघको गरिमा उँचो बनाउन पूर्वअध्यक्षज्यूहरुको अतुलनीय योगदानको चर्चा गर्नुहुँदै उहाँले उपस्थित सम्पूर्ण महानुभावहरुलाई हार्दिक स्वागत गर्नुभयो ।
शुभकामना मन्तव्य राख्ने क्रममा जिल्ला नगर उद्योग वाणिज्य संघहरुको तर्फबाट सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष श्री नेत्र आचार्यज्यूले नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको नवौं प्रदेश सभाको पूर्ण सफलताको शुभकामना दिनुहुँदै वर्तमान परिस्थितिमा धेरै जसो व्यवसायीहरु रुग्ण अवस्थामा पुगेको र केन्द्रले जिल्ला नगर उद्योग वाणिज्य संघहरुलाई केवल निर्वाचनको समयमा मात्र सम्झिने गरेको गुनासो व्यक्त गर्नुभयो । जिल्ला नगरको समस्या समाधानमा नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यकारिणी समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा आफू आशावादी रहेको बताउनुहुँदै उहाँले त्यस्तै नेतृत्वको चुन्न सबै जिल्ला नगर उद्योग वाणिज्य संघहरुलाई आग्रह पनि उहाँले बताउनुभयो ।
मन्तव्यकै क्रममै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्री दिपक नेपालज्यूले सर्वप्रथम नवौं प्रदेश सभाको पूर्ण सफलताको शुभकामना व्यक्त गर्नुहुँदै तीन तहको सरकार हुँदा पनि उद्योगी व्यवसायीहरुलाई एकद्वार प्रणाली नभईदिंदा समस्या परिरहेको विषयमा माननीय मुख्यमन्त्रीज्यूको ध्यानाकर्षण गराउनुभयो । व्यवसायीहरुको अनेक समस्याहरुको समाधानमा नेपाल उद्योग वाणिज्य महासंघले सरकारका तीनै तहसंग समन्वय गरी निजी क्षेत्रको समृद्धिमा पाईला अगाडि बढाओस् भन्ने शुभकामना पनि व्यक्त गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्री उमेश डालमियाँज्यूले जिल्ला नगर उद्योग वाणिज्य संघहरुका समस्याहरु थुप्रै रहेको बताउनुहुँदै सो समस्याहरुको समाधानकालागि आफूले महासंघको आसन्न निर्वाचनमा जिल्ला नगर उपाध्यक्ष पदमा उम्मेद्वारी दिएको बताउनुभयो । उद्योगी व्यवसायीहरुको श्रम समस्या, ई–कमर्स, एकद्वार प्रणाली, कर भ्याट समस्यादेखि स्टार्ट अप, खुला सिमाना समस्याहरुका विषयमा केन्द्रले ध्यान दिनुपर्ने विचार व्यक्त गर्नुहुँदै मेला महोत्सवहरु उद्योग वाणिज्य संघहरुले मात्र गर्न पाउने व्यवस्थाको लागि ध्यानाकर्षण गराउनुभयो ।
त्यसैगरी शुभकामना मन्तव्य राख्नुहुँदै नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष श्री कृष्ण प्रसाद शर्माज्यूले उद्योगी व्यवसायीका समस्याहरु बुझेका व्यक्तित्वहरुको हातमा केन्द्रीय महासंघ जानुपर्ने बताउनुभयो । महासंघको सचिवालय व्यवस्थापनदेखि जिल्ला नगर उद्योग वाणिज्य संघहरुका पीडाहरु सम्बोधन गर्न आफूले आसन्न निर्वाचनमा जिल्ला नगर उपाध्यक्ष पदमा उम्मेद्वारी दिएको बताउनुहुँदै नवौं प्रदेश सभाको पूर्ण सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
सम्मान पत्रद्वारा सम्मानित हुनुहुने नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष श्री दिनेश श्रेष्ठज्यूले सम्मानको लागि हार्दिक धन्यवाद ज्ञापन गर्नुहुँदै निजी क्षेत्रको समस्याहरु उठान गर्न आफू सदैव लागिपर्ने बताउनुभयो । महासंघ होस् वा प्रदेश महासंघ होस् वा जिल्ला नगर उवासंघहरु होस्, सबैले आफ्नो मिसन र भिजन अनुसार अघि बढ्नुपर्ने बताउनुहुँदै उहाँले निजी क्षेत्रको हक हित संगसंगै निर्यात योग्य उद्यमी बनाई राष्ट्रको अर्थतन्त्र मजबुत बनाउनुपर्ने सुझाउनुभयो । आगामी निर्वाचनबाट जो जसको नेतृत्व आए तापनि सबैसंग मिलेर उद्योगी व्यवसायीको हक हितमा निरन्तरता प्रदान गर्न अनुरोध गर्नुहुँदै उहाँले निजी क्षेत्रले सरकारलाई हरेक समस्यामा झक्झक्याउन पनि अनुरोध गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका बस्तुगत उपाध्यक्ष श्री हेमराज ढकालज्यूले नवौं प्रदेश सभा तथा अधिवेशनको पूर्ण सफलताको शुभकामना व्यक्त गर्नुहुँर्दै भर्खरै नयाँ सरकार गठन भएकोमा यो बलियो सरकारसंग निजी क्षेत्रले आफ्ना मागहरु सशक्त ढंगले राख्न सक्ने नेतृत्व चयन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । रोजगारी श्रृजना र राजस्व संकलनमा निजी क्षेत्रले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुहुँदै उहाँले निजी क्षेत्र बलियो बनेर अघि बढ्नुको विकल्प नभएको पनि बताउनुभयो । सातै वटा प्रदेशमा सेज स्थापना हुन गईरहेको, विभिन्न कम्पनीहरुको आईपिओ जारी हुन गईरहेको, हाईड्रो पावर कम्पनीहरुको स्वीकृतिलगायतका विभिन्न कार्यहरु यो कार्यकालमा गर्न सकिएको बताउनुहुँदै उहाँले उधारो कानूनलगायत निजी क्षेत्रमैत्री कानूनहरु बनाउन पनि पहल गरिएको बताउनुभयो । अझै पनि निजी क्षेत्रले गरिखाने वातावरण तयार नभएको बताउनुहुँदै उहाँले आगामी निर्वाचनबाट त्यो वातावरण तयार गर्न निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व तयार हुनुपर्ने पनि बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष श्री सुरकृष्ण बैद्यज्यूले अध्यक्ष श्री दिल सुन्दर श्रेष्ठज्यूको कार्यकालमा विभिन्न आरोह अवरोह पार गर्दै सरकारी निकायहरुसंग समन्वय गरेर विविध कृयाकलापहरु आयोजना गर्नुभएकोमा खुशी व्यक्त गर्नुहुँदै आफ्नै सचिवालय भवन निर्माण गर्न उहाँको सपना स्थानीय निकायको असहयोगका कारण पूरा हुन नसकेकोमा दुःख व्यक्त गर्नुभयो । जिल्ला नगर उपाध्यक्षको तयारी गर्दै रहनुभएका अध्यक्षज्यूलाई सफलताको शुभकामना व्यक्त गर्नुहुँदै केन्द्रीय अध्यक्ष श्री चन्द्र प्रसाद ढकालज्यूको कार्यकालमा निजी क्षेत्रसंग सम्बन्धित धेरै कानूनहरु संशोधन भएको बताउनुभयो । केन्द्रीय महासंघको आफ्नै विधान संशोधनदेखि नियमावलीहरु बनाउने कार्य गरिएको बताउनुहुँदै उहाँले अग्रजहरुको सम्मान गर्दै जिल्ला नगर उद्योग वाणिज्य संघहरुको वृद्धि विकासको लागि अब नयाँ ढंगले सोच्न जरुरी रहेको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघको शक्ति भनेकै जिल्ला नगर उवासंघहरु रहेको बताउनुहुँदै उहाँले अबको नयाँ सरकारले बनाउने बजेटमा निजी क्षेत्रसंग मिलेर गर्ने कार्यक्रमहरुको छुट्टै बजेट छुट्ट्याउन सरकारलाई झक्झक्याउनु पर्ने पनि बताउनुभयो । गाउँपालिका उवासंघहरु गठन हुने प्रकृया अघि बढिसकेको सन्दर्भमा नगर उवासंघहरुलाई पनि केन्द्रमा सदस्यता प्रदान गरिनुपर्ने र सोको लागि विधान संशोधन गरेरै भएपनि अघि बढ्नुपर्ने बताउनुहुँदै उहाँले प्रदेश उद्योग वाणिज्य महासंघहरुलाई बलियो बनाए केन्द्रीय महासंघ स्वतः बलियो हुने पनि बताउनुभयो । साथै केन्द्रदेखि प्रदेश सबैतिर अहिले निर्वाचनको माहौल भईरहेको सन्दर्भमा सशक्त नेतृत्व चयन गर्न सबैलाई अनुरोध गर्नुहुँदै नवौं प्रदेश सभा तथा अधिवेशनको पूर्ण सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवम् सार्क चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिजका अध्यक्ष श्री चण्डिराज ढकालज्यूले हिजोको दिनमा राज्यपछिको दोश्रो संस्थाको रुपमा रहेको नेउवामहासंघको गरिमा कायम राखिराख्न आगामी निर्वाचनबाट आउने नयाँ कार्यकारिणी समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल सरकारका विभिन्न मन्त्रालयदेखि अनेकौं संघसंस्थाहरुमा पहिले रहेको नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधित्वहरु विस्तारै हट्दै गएकोमा ध्यानाकर्षण गराउनुहुँदै उहाँले महासंघले गरिमा बढाउन सके जिल्ला नगर उवांघहरुको गरिमा आफै बढ्ने पनि बताउनुभयो । निजी क्षेत्रका पनि कमी कमजोरीहरु रहेको स्वीकार्नु हुँदै उहाँले ती कमी कमजोरीहरुलाई सुधार गर्दै लैजानुपर्नेमा पनि जोड दिनुभयो । विगतमा स्थानीय निकायहरुसंगको सार्वजनिक निजी साझेदारी अवधारणा विभिन्न कृयाकलापहरु आयोजना गरिएको ईतिहास स्मरण गराउनुहुँदै आजका दिनहरुमा यस्ता कृयाकलापहरु नभएकोमा आश्चर्यमा परेको बताउनुभयो । एक गाउँ एक उत्पादन कार्यक्रम, महिला सशक्तिकरण, ट्रेड स्कुल कार्यक्रम जस्ता विभिन्न कार्यक्रमहरु नेपाल उद्योग वाणिज्य महासंघले नै सरकारसंगको सहकार्यमा आयोजना गरिएको बताउनु हुँदै उद्योग वाणिज्य महासंघलाई चिनाउने आज कुनै कार्यक्रम नभएकोमा आफू दुखित भएको बताउनुभयो । सार्क उद्योग वाणिज्य संघको अध्यक्षको हैसियतले विभिन्न सार्क राष्ट्रको भ्रमणको क्रममा आफूले सही अर्थमा औद्योगिक व्यापार मेलाको अवलोकन गरेको बताउनुहुँदै उहाँले औद्योगिक व्यापार मेलालाई विशुद्ध उद्योगी व्यवसायीको प्रवद्र्धन हेतु संचालन गरिनुपर्ने कुरामा पनि विशेष जोड दिनुभयो । अन्त्यमा बागमती प्रदेश उद्योग वाणिज्य महासंघले गरेका राम्रा कामहरुको विशेष प्रशंसा गर्नुहुँदै उहाँले नवौं प्रदेश सभा एवम् अधिवेशनको पूर्ण सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
नवौं प्रदेश सभाकै अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष श्री दिनेश श्रेष्ठज्यूलाई उहाँले प्रदेश उद्योग वाणिज्य महासंघको वृत्ति विकासमा पुर्याउनुभएको अतुलनीय योगदानको कदर स्वरुप सम्मान पत्रद्वारा सम्मानित गरिएको थियो । कार्यक्रममा सभापति श्री दिल सुन्दर श्रेष्ठज्यूले दोसल्ला ओढाउनुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री माननीय ईन्द्र बहादुर बानियाँज्यूले सम्मान पत्र प्रदान गर्नुभएको थियो ।
आफ्नो कार्यकाललाई सफल बनाउन अहोरात्र खटी सहयोग गर्नुहुने सम्पूर्ण पदाधिकारी, कार्यकारिणी सदस्य, पदेन सदस्य एवम् कर्मचारीहरुलाई अध्यक्ष श्री दिल सुन्दर श्रेष्ठज्यूले प्रशंसा–पत्र प्रदान गर्नुभएको थियो भने सम्पूर्ण जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्षज्यूहरुलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । त्यसैगरी प्रमुख अतिथि नेपाल सरकार बागमती प्रदेशका मुख्यमन्त्री माननीय ईन्द्र बहादुर बानियाँज्यूलाई पनि नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठज्यूले मायाको चिनो प्रदान गर्नुभएको थियो ।
प्रदेश सभाको उद्घाटन सत्रको अन्त्यमा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका उपाध्यक्ष श्री गुणराज श्रेष्ठज्यूले नवौं प्रदेश सभा एवम् अधिवेशनको समुद्घाटन गरिदिनु भएकोमा प्रमुख अतिथिज्यू, कार्यक्रमको गरिमा बढाईदिन उपस्थित हुनुहुने विशिष्ट अतिथिज्यूहरु, अतिथिज्यूहरु, विभिन्न जिल्ला नगर उवासंघका अध्यक्ष र प्रतिनिधिज्यूहरु, विभिन्न बस्तुगत संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिज्यूहरु, एशोसियट संस्थाका प्रमुख एवम् प्रतिनिधिज्यूहरु, पर्यवेक्षकज्यूहरु, विभिन्न संघसंस्थाका अध्यक्ष, प्रमुख एवम् प्रतिनिधिज्यूहरु, विज्ञापनदाताज्यूहरु, कर्मचारीहरु, संचारकर्मी मित्रहरुलाई बागमती प्रदेश महासंघको तर्फबाट हार्दिक धन्यवादज्ञापन गर्नुभयो र समुद्घाटन समारोह समापन भएको घोषणा गर्नुभएको थियो ।
समुद्घाटन सत्रपछि शुरु भएको बन्द सत्रमा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको नवौं प्रदेश सभा अध्यक्ष दिल सुन्दर श्रेष्ठज्यूले महासंघका पदाधिकारीज्यूहरु, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका सबै जिल्ला नगर उवासंघहरु, बस्तुगत संघहरु, एशोसियट सदस्यज्यूलगायत उपस्थित सबैलाई बन्द सत्रमा स्वागत गर्नुभएको थियो । बन्द सत्रले नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशले वर्षभरि आयोजना गरेका कार्यक्रम तथा गतिविधिहरु समेटिएर तयार गरिएको प्रतिवेदन प्रस्तुत गरि सर्वसम्मत अनुमोदन गरेको थियो । त्यसैगरी आ.व. २०८१।८२ को आम्दानीतर्फ रु. ४२,९८,७३९।२८ र खर्चतर्फ रु. २८,५७,१८८।७० पैसाको आय व्यय विवरण सभामा पेश गरिएकोमा सर्वसम्मत अनुमोदन गरिएको थियो ।
लेखा परीक्षक र पारिश्रमिक तोक्ने सम्बन्धमा कार्यकारिणी समितिलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको थियो भने माईन्यूट प्रमाणित गर्न थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष श्री पुरुषोत्तम ढकालज्यूलाई प्रतिनिधि नियुक्त गर्ने निर्णय गरिएको थियो ।
नवौं प्रदेश सभापश्चात नयाँ कार्यकालको लागि नेउवामहासंघ बागमती प्रदेश निर्वाचन समितिबाट पूर्व प्रकाशित निर्वाचन तालिका अनुसार भएको निर्वाचन कार्यक्रमबाट तपसील बमोजिम नतिजा प्राप्त भई निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृतज्यूबाट निर्वाचित सबैलाई प्रमाण–पत्र प्रदान गरिएको थियो ।
सि.नं. नाम थर संस्था पद निर्वाचित पद कैफियत
१. श्री वेद बहादुर श्रेष्ठ सिन्धुपाल्चोक उवासंघ पूर्वअध्यक्ष अध्यक्ष निर्वाचित
२. श्री कृष्ण कुमार गुप्ता मकवानपुर उवासंघ नि.अध्यक्ष जिल्ला नगर उपाध्यक्ष निर्वाचित
३. श्री कृष्णभक्त श्रेष्ठ उग्रचण्डी ग्याँस उद्योग प्रा.लि. अध्यक्ष एशोसियट उपाध्यक्ष निर्विरोध निर्वाचित
४. श्री प्रेमहरि मैनाली नेपाल वितरक संघ अध्यक्ष बस्तुगत उपाध्यक्ष निर्वाचित
५. श्री रुद्र बहादुर खत्री धादिङ्ग उवासंघ पूर्वअध्यक्ष कोषाध्यक्ष निर्वाचित
६. श्री कृष्ण मुरारी न्यौपाने भक्तपुर उवासंघ पूर्वअध्यक्ष कार्यकारिणी सदस्य निर्विरोध निर्वाचित
७. श्री जयप्रकाश श्रेष्ठ रामेछाप उवासंघ पूर्व उपाध्यक्ष कार्यकारिणी सदस्य निर्विरोध निर्वाचित
८. श्री राजकुमार कँडेल राप्ती उवासंघ अध्यक्ष कार्यकारिणी सदस्य निर्विरोध निर्वाचित
९. श्री राजन कार्की पाँचखाल उवासंघ नि. अध्यक्ष कार्यकारिणी सदस्य निर्विरोध निर्वाचित
१०. श्री शनत थापा दोलखा उवासंघ पूर्व उपाध्यक्ष कार्यकारिणी सदस्य निर्विरोध निर्वाचित
११. श्री उत्तम शर्मा ढकाल धानेश्वर खाद्य उद्योग प्रा.लि. अध्यक्ष कार्यकारिणी सदस्य निर्विरोध निर्वाचित
१२. श्री नविन्द्र देव सिं रत्नदेव कपडा उद्योग अध्यक्ष कार्यकारिणी सदस्य निर्विरोध निर्वाचित
१३. श्री ज्योतिरत्न बज्राचार्य नेपाल सुनचाँदी व्य. महासंघ बागमती प्रदेश अध्यक्ष कार्यकारिणी सदस्य निर्विरोध निर्वाचित
१४ श्री सदिश श्रेष्ठ नेपाल टेलरिङ्ग व्य. महासंघ अध्यक्ष कार्यकारिणी सदस्य निर्विरोध निर्वाचित