दक्ष जनशक्ति उत्पादनकोलागि सीप परीक्षणसहितको तालिम शुरु । २०८२ माघ १८

दक्ष जनशक्ति उत्पादनकोलागि सीप परीक्षणसहितको तालिम शुरु । २०८२ माघ १८
दक्ष जनशक्ति उत्पादनको लागि सीप परीक्षणसहितको सिलाई कटाई तालिम थाहानगरमा शुरु भएको छ । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय र नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको सहकार्यमा उक्त तालिम आयोजना गरिएको हो । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक श्री यादवनाथ आचार्यज्यूको सभाध्यक्षता, थाहानगरपालिकाका उपप्रमुख श्री भरत गोपालीज्यूको प्रमुख आतिथ्यता, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कोषाध्यक्ष श्री कविराज खत्रीज्यूको विशिष्ट आतिथ्यतामा तालिम कार्यक्रमको शुभारम्भ गरिएको हो । स्वागत मन्तव्य राख्नुहुँदै नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कोषाध्यक्ष श्री कविराज खत्रीज्यूले निर्देशनालयसंगको सहकार्यमा निरन्तरता प्रदान गर्दै सीप परीक्षणसहितको तालिम कार्यक्रम आयोजना गरिएको बताउनुभयो । मन्तव्य राख्नुहुँदै थाहानगर उद्योग वाणिज्य संघका उपाध्यक्ष श्री सुरेन्द्रमान प्रधानज्यूले थाहानगरपालिकाका युवाहरुलाई लक्षित गरी कार्यक्रम राखिदिनुभएकोमा दुवै संस्थालाई धन्यवादज्ञापन गर्नुभयो । प्रमुख अतिथि श्री भरत गोपालीज्यूले विगतमा तालिमका कार्यक्रमहरु तालिममा मात्र सीमित हुने गरेकोमा यस पटक तालिम संगसंगै सो को सीप परीक्षण पनि गरिने भएकोले सबै सहभागीहरुलाई लगनशील भई तालिम लिन र सीप परीक्षा उत्तीर्ण गर्न अनुरोध गर्नुभयो । साथै भोलिका दिनमा उद्यमी बन्न पनि नगरपालिकाबाट आवश्यक सहयोग प्रदान गर्ने बताउनुभयो । सभाध्यक्ष श्री यादवनाथ आचार्यज्यूले सहभागीहरुले तालिम लिंदा ध्यान दिनुपर्ने कुराहरुमा जोड दिनुहुँदै सबै सहभागीहरुलाई उद्यमी बनेको देख्न चाहेको बताउनुभयो । थाहानगर उद्योग वाणिज्य संघका कार्यकारी सचिव श्री मोहनमान प्रधानज्यूले संचालन गर्नुभएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कार्यकारी निर्देशक श्री विवेक मानन्धर, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका अधिकृत श्री मुक्तिनाथ निरौलाज्यूको पनि उपस्थिति रहेको थियो । १० जना युवाहरुलाई ३९० घण्टा भन्दा बढी अवधिको सिलाई कटाई तालिम प्रशिक्षक श्री आरती श्रेष्ठज्यूले प्रदान गर्नुहुनेछ । उक्त तालिमपश्चात राष्ट्रिय सीप परीक्षण केन्द्रबाट सहभागीहरुको सीप परीक्षण पनि गराईनेछ ।