एलडीसी स्तरोन्नतिपछिको अवस्थाका लागि अहिलेबाटै सरकार, निजी क्षेत्र र सरोकारवालाबीच प्रभावकारी सहकार्य आवश्यक । – उपाध्यक्ष मैनाली (२०८३।०६।२१)

एलडीसी स्तरोन्नतिपछिको अवस्थाका लागि अहिलेबाटै सरकार, निजी क्षेत्र र सरोकारवालाबीच प्रभावकारी सहकार्य आवश्यक । – उपाध्यक्ष मैनाली (२०८३।०६।२१)
नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको ‘नेपालको समावेशी व्यावसायिक वातावरण तथा साना तथा मझौला उद्यम अभिवृद्धि परियोजना’ को आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको संयोजकत्वमा भक्तपुरमा आयोजना गरिएको  ‘अतिकम विकसित मुलुकबाट स्तरोन्नति सचेतना कार्यशाला’ मा उद्योगी, व्यवसायी, साना तथा मझौला उद्यम तथा अन्य सरोकारवालाले संक्रमणकालकालागि तत्काल तयारी गर्नुपर्ने बताएका हुन् । एलडीसीबाट स्तरोन्नति भएपछि उत्पन्न हुने सम्भावित चुनौती न्यूनीकरण गर्दै उपलब्ध अवसरको सदुपयोग गर्न अहिलेदेखि नै सरकार, निजी क्षेत्र र सरोकारवालाबीच प्रभावकारी सहकार्य आवश्यक रहेको पनि सरोकारवालाले जोड दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका उपाध्यक्ष प्रेमहरि मैनालीज्यूको सभापतित्वमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै उहाँले गतवर्षको जेन्जी आन्दोलन र गत भाद्र महिनाको भोटेकोशी बाढीका कारण समग्र राष्ट्रको अर्थतन्त्रमा परेको असरका कारण सरकारको आग्रहपछि तत्कालका लागि एलडीसीबाट स्तरोन्नति ३ वर्ष पर सर्न सक्ने भए तापनि त्यसपछिको व्यापारिक तथा अन्य सुविधामा हुने सम्भावित परिवर्तनका कारण नेपाली उत्पादनको प्रतिस्पर्धात्मक क्षमता कायम राख्न अहिलेबाटै स्पष्ट, समयबद्ध र कार्यान्वयनयोग्य तयारी आवश्यक रहेको बताउनुभयो । स्तरोन्नति केवल एउटा अन्तर्राष्ट्रिय सूचक वा औपचारिक उपलब्धि मात्र नभई, यससँग जोडिएका व्यापार, निर्यात, लगानी, रोजगारी, उत्पादन र निजी क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता जस्ता विषयहरुमा पनि गम्भीर तयारी आवश्यक रहेको उहाँले बताउनुभयो । “३ वर्ष यसैगरी नै बित्छ तर त्यो समयको लागि अहिले देखि नै स्पष्ट, समयबद्ध र कार्यान्वयन योग्य तयारी आवश्यक रहेको छ । निजी क्षेत्रका लागि एलडिसी स्तरोन्नतिपछि प्राप्त हुने अवसरसँगै धेरै चुनौतीहरू पनि आउन सक्छन् । अन्तर्राष्ट्रिय बजारमा प्राप्त हुने सुविधा तथा सहुलियतमा हुने कमी, नेपाली उत्पादनको प्रतिस्पर्धात्मक क्षमता, निर्यात लागत, गुणस्तर मापदण्ड, प्रविधि, वित्तीय पहुँच र लगानीको वातावरणलाई हामीले समयमै सम्बोधन गर्नुपर्ने आवश्यकता छ ।" उहाँले बताउनुभयो ।

कार्यशालामा परियोजनाका परामर्शदाता भोजराज पोखरेलज्यूले नेपालले स्तरोन्नति हासिल गर्दा प्राप्त हुने अवसर र सामना गर्नुपर्ने चुनौतीबारे प्रस्तुति दिँदै नेपालले संक्रमणकालको तयारी योजनाबद्ध रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । स्तरोन्नतिपछि उपलब्ध हुने अवसर उपयोग गर्न उत्पादन क्षमता, गुणस्तर, बजार विविधीकरण तथा निजी क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता बढाउनु पर्ने पनि उहाँले बताउनुभयो । 

त्यसैगरी ‘नेपालको समावेशी व्यावसायिक वातावरण तथा साना तथा मझौला उद्यम अभिवृद्धि परियोजना’का परियोजना प्रमुख रोशन नेपालज्यूले परियोजनाको उद्देश्यबारे जानकारी दिँदै नेपालमा समावेशी तथा प्रतिस्पर्धी व्यावसायिक वातावरण निर्माण, साना तथा मझौला उद्यमको क्षमता अभिवृद्धि र उनीहरूको बजार पहुँच विस्तारमा परियोजनाले काम गरिरहेको बताउनुभयो । उहाँले एलडीसी स्तरोन्नतिपछिको सम्भावित प्रभावबारे क्षेत्रगत तथा बजारगत अध्ययनसमेत गरिरहेको समेत जानकारी दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कार्यकारी निर्देशक विवेक मानन्धरज्यूले संचालन गर्नुभएको उक्त कार्यक्रममा भक्तपुर उवासंघका पदाधिकारी, कार्यसमिति सदस्य एवम् विभिन्न सरोकारवाला उद्योगी व्यवसायीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

महासंघले एलडीसी स्तरोन्नतिको विषयमा प्रदेशस्तरबाटै सचेतना तथा छलफल अघि बढाउँदै आएको छ । विराटनगर, वीरेन्द्रनगर, धनगढी र काठमाडौं पछि भक्तपुरमा आयोजित यो शृंखलाको पाँचौं कार्यशाला हो । आगामी दिनमा ललितपुरमा समेत यो कार्यक्रम आयोजना गरिने तयारी भईरहेको छ ।