हार्दिक अपील !

हार्दिक अपील  !
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको
हार्दिक अपिल ।
२०८२ असार २४
रसुवाको भोटेकोशी नदीमा हिजो असार २३ गते सोमबार आएको बाढीका कारण भएको ठूलो जनधनको क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश गहिरो दुःख व्यक्त गर्दछ । यस प्राकृतिक विपद्बाट आज मंगलवार विहानसम्म धादिङ्गको त्रिशुली नदिमा २ जनाको शव भेटिएको छ । ३ प्रहरी, ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहिन भएको खबर प्राप्त भएको छ । बाढीले नेपाल चीन जोड्ने मितेरी पुल एवम् भन्सार क्षेत्रमा रहेका धेरै कन्टेनर र गाडीहरु बगाएको छ । २०० मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको विद्युत उत्पादन बन्द भएको छ । विपद्का कारण सरकारी, सामुदायिक र व्यक्तिगत गरी ठूलो भौतिक सम्पतिमा क्षति पुग्नुका साथै नेपाल चीन जोड्ने सडक सञ्जाल अवरुद्ध भएको छ । 
यस दुःखद घडीमा प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकको जीवन रक्षा, उद्धार तथा राहतको कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन यथाशीघ्र प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीसहितको उद्धार तथा राहत टोली खटाएर थप मानवीय र भौतिक क्षति हुन नदिन बागमती प्रदेश सरकारलगायत संघीय र स्थानीय तहका सरकारको आवश्यक योजनाका साथ सम्पूर्ण ध्यान केन्द्रित गर्न नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश विशेष आग्रह गर्दछ । पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन, सम्पर्कविहीनहरुको खोजी तीव्र बनाउन र घाईतेहरुको यथाशीघ्र उपचारको व्यवस्था गर्न र विग्रिएको सडक संजाल यथाशीघ्र मर्मत गर्ने व्यवस्था मिलाउन पनि नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश सबै तीनै तहका सरकारको ध्यानाकर्षण गराउँदछौं ।
यस आपातकालिन अवस्थामा नेपाल उद्योग वाणिज्य महासंघ–बागमती प्रदेश सम्पूर्ण नागरिक तथा उद्योगी व्यवसायीहरुलाई संयमता अपनाउन र सुरक्षित रहनका लागि हार्दिक अपील गर्दछ । स्थिति समान्य नहुञ्जेलसम्म आपातकालिन शर्तहरुको पालना गर्दै सुरक्षित स्थानमा रहन हुन सबैलाई हार्दिक अनुरोध गर्दछौं । यस्तो विषम परिस्थितिमा उद्योगी व्यवसायीहरुलाई पनि अस्वाभाविक मूल्यबृद्धि, कालोबजारी, कृतिम अभाव श्रृजना हुने वातावरण नबनाई जनताको पीडामा मल्हम लगाउने कार्य गरिदिनु हुन नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश सबै उद्योगी व्यवसायीहरुमा हार्दिक अनुरोध गर्दछौं । साथै पीडित समुदायलाई राहत र सहयोगको लागि एकता र सहकार्यमा साथ दिनु हुन पनि सबैमा हार्दिक अनुरोध गर्दछौं ।
यस प्राकृतिक प्रकोपमा परी जीवन गुमाउनु हुने सम्पूर्णमा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछौं । साथै घाईतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्दछौं ।
धन्यवाद ।

..............................
दिल सुन्दर श्रेष्ठ, अध्यक्ष
नेपाल उद्योग वाणिज्य महासंघ, बागमती प्रदेश
Releated Attachment : 1752475003_press release rasuwa flood.pdf