बागमती युवा उद्यमी रोजगार महोत्सव भव्य रुपमा सम्पन्न । २०८२।३।१५
बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयसंगको सहकार्यमा हेटौंडामा “बागमती युवा उद्यमी रोजगार महोत्सव” हेटौंडामा भव्यतापूर्वक सम्पन्न गरिएको छ । देशभरका विभिन्न राष्ट्रिय बहुराष्ट्रिय उद्योगदेखि पाँचतारे होटलसम्म, आईटी, सेक्युरिटी, बैंक तथा वित्तिय संस्था, तालिम प्रदायक संघसंस्थाहरु समेत गरी ४० वटा स्टलहरु राखी आयोजना गरिएको बागमती युवा उद्यमी रोजगार महोत्सवमा विशिष्ट प्रशिक्षकहरुद्वारा क्यारियर काउन्सिलिङ्ग, सफल उद्यमीका कथाबाचनसंगसंगै “श्रममा युवाः प्रदेश सरकारको भूमिका” विषयक छलफल कार्यक्रमको पनि आयोजना गरिएको थियो । विभिन्न शैक्षिक प्रतिष्ठानका विद्यार्थी, शिक्षक, रोजगारको खोजीमा रहेका व्यक्तिहरु समेत गरी १००० भन्दा बढीले अवलोकन गरेको रोजगार महोत्सवमा विभिन्न उद्योगहरुले रोजगारीको लागि आवश्यक जनशक्ति छनौट गरी अन्तर्वार्ताकालागि चयन समेत गरेका छन् । सबै उद्योग प्रतिष्ठानहरु गरी झण्डै १०० भन्दा बढी पदहरुमा आवश्यक जनशक्ति माग गरिएकोमा उक्त पदहरुमा १००० भन्दा बढी आवेदकहरुले आफ्नो नाम दर्ता गराएका थिए । उक्त १०० भन्दा बढी पदहरु मध्ये ३७ जना आवेदकहरु अन्तर्वार्ताकालागि छनौट समेत भएका थिए । महोत्सवमै विभिन्न शैक्षिक संस्थाका विद्यार्थी एवम् रोजगारीको खोजीमा रहेका व्यक्तिहरुलाई जीवनवृत्ति सम्बन्धी कार्यशाला गोष्ठी मार्फत मार्गदर्शन पनि प्रदान गरिएको थियो । “श्रममा युवाः प्रदेश सरकारको भूमिका” विषयक छलफल कार्यक्रममा श्रम, रोजगार तथा यातायात मन्त्रालयका श्रीमान् सचिवज्यू, महिला उद्यमी महासंघ नेपालका अध्यक्ष र त्रिभुवन विश्वविद्यालयका बरिष्ठ प्राध्यापकज्यूबाट युवाशक्तिलाई देशमै रोक्न प्रदेश सरकारले खेल्नुपर्ने भूमिकाको विषयमा चर्चा परिचर्चा गरिएको थियो ।
बागमती रोजगार महोत्सव २०८२ को समुद्घाटन बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री माननीय प्रेमभक्त महर्जनज्यूले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कोषाध्यक्ष श्री कविराज खत्रीज्यूको सभाध्यक्षता, बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री माननीय प्रेमभक्त महर्जनज्यूको प्रमुख आतिथ्यता, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्री कृष्ण कटुवालज्यूको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पानुहुँदै स्वागत मन्तव्य राख्ने क्रममा नेपाल उद्योग वाणिज्य महासंघका राजस्व परामर्श समिति सदस्य श्री उज्वल चौलागाईज्यूले उद्योग प्रतिष्ठानहरुमा दक्ष जनशक्तिको अभाव हुनु र सर्वसाधारणले बेरोजगार भएर बस्नुपर्ने अवस्थाले बेरोजगारी संख्या झनै बढ्दै गईरहेकोमा त्यही खाडल पुर्न नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशले पहिलो पल्ट श्रम, रोजगार तथा यातायात मन्त्रालयको सहयोगमा “बागमती युवा उद्यमी रोजगार महोत्सव” आयोजना गरिएको बताउनुभयो । श्रम, रोजगार तथा यातायात मन्त्रालयको यो सहयोगको उच्च कदर गर्दै उहाँले आगामी दिनहरुमा पनि यस्तै कार्यक्रमहरु आयोजनामा यथेष्ट सहयोग पाउने अपेक्षा राख्नुभयो ।
प्रमुख अतिथि माननीय प्रेमभक्त महर्जनज्यूले रोजगार महोत्सव र व्यापार महोत्सव छुट्टाछुट्टै पाटो रहेको बताउनुहुँदै व्यापार महोत्सवमा उत्पादित बस्तु तथा सेवाहरुको प्रवद्र्धन गरिने थलो रहेको तर रोजगार महोत्सव विशुद्ध रोजगारी खोज्ने र रोजगारी प्रदान गर्ने बीचको पुलको काम गर्ने थलो रहेको बताउनुभयो । नेपालमा केही छैन, केही हुँदैन भन्ने भाष्यलाई चिर्न पनि यस्ता रोजगार महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुहुँदै उहाँले श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशले यो युवा उद्यमी रोजगार महोत्सव आयोजना गरेको बताउनुभयो । महोत्सव आयोजना गर्दा निजी क्षेत्रसंग सहकार्य गरेर आयोजना गर्दा बढी प्रभावकारी भएको पाईएको बताउनुहुँदै माननीय मन्त्रीज्यूले नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको अथक प्रयासले महोत्सव सफलतापूर्वक आयोजना गर्न सकिएको बताउनुभयो । आगामी वर्षबाट कम्तिमा २ पटक रोजगार महोत्सव आयोजना गरिने बताउनुहुँदै माननीय मन्त्रीज्युले समृद्धिको यात्रामा रोजगारीले महत्वपूर्ण भूमिका खेल्ने भएकोले अबका दिनहरुमा रोजगारी श्रृजना गरी युवा जनशक्तिलाई देशमै रोजगारी प्रदान गर्नुपर्ने बताउनुभयो । उहाँले रोजगारीमा आउन चाहनेहरु र उद्योगीहरुबीचको मिसम्याचलाई कम गर्न आगामी दिनहरुमा स्पष्ट नीति बनाई अघि बढ्ने पनि बताउनुभयो । यो एउटा शुरुवातको रुपमा रहेको र यसको निरन्तरताको लागि श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेश सकारात्मक रहेको बताउनुहुँदै उहाँले अन्य औद्योगिक जिल्लाहरुमा पनि रोजगार महोत्सव आयोजना गर्ने प्रयास गर्ने बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा मकवानपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष श्री कृष्ण कटुवालज्यूले विगतमा गरिएका मेला महोत्सवहरु भन्दा पृथक रुपमा यो युवा उद्यमी रोजगार महोत्सव रहेको बताउनुभयो । उत्पादित सरसामानहरुको विक्री एवम् प्रदर्शनी हुने मेला महोत्सवहरु भन्दा छुट्टै यो युवा उद्यमी रोजगार महोत्सवले युवा शक्तिलाई देशमै रहन रोजगार प्रदान गर्ने लक्ष्य बोकी आयोजना गरिएकोमा खुशी व्यक्त गर्नुभयो । दैनिक रुपमा विदेशिएका नेपाली जनशक्तिलाई रोजगारीको अवसर प्रदान गर्न समसामयिक शिक्षा प्रदान गर्न जरुरी रहेको बताउनुहुँदै आगामी दिनहरुमा कम्तिमा बागमती प्रदेशका सबै औद्योगिक जिल्लाहरुमा यस्ता रोजगार महोत्सव आयोजना गर्न माननीय मन्त्रीज्यूलाई आग्रह पनि गर्नुभयो ।
कार्यक्रमका अतिथि ग्रोथ सेलर्स प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत श्री सम्झना शर्माज्यूले यस्ता रोजगार महोत्सवहरुले बेरोजगारी दर कम गर्न महत्वपूर्ण भूमिका खेल्ने भएको आगामी दिनहरुमा पनि यस्ता महोत्सवहरुले निरन्तरता पाउने आशा राखेको बताउनुभयो । सरकारी र निजी क्षेत्रको सहकार्यमा गरिने कार्यक्रमहरु उपलब्धिमूलक हुने देखिएकोले श्रम र रोजगारसंग जोडिएका हरेक कृयाकलापहरुमा सरकारले निजी क्षेत्रसंग सहकार्य गरेर अघि बढ्नुपर्ने पनि उहाँले बताउनुभयो । उद्योग प्रतिष्ठान र रोजगार खोज्नेहरुबीचको खाडल पुर्न यस्ता महोत्सवहरुमा आफ्नो पनि पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्टल राखेका उद्योग प्रतिष्ठानहरुको तर्पmबाट श्री राम तिवारीज्यूले महोत्सव आयोजना गरी रोजगारीको अवसर श्रृजना गर्ने प्रयास गर्नुभएकोमा श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो । महोत्सवमा उद्योग प्रतिष्ठानले रोजगार खोज्नेहरुलाई प्रत्यक्ष भेट्ने मौका मिल्ने, उद्योग प्रतिष्ठानले खोजेकै जस्ता धेरै जनशक्तिहरु फेला पर्ने भएकोले यस्ता महोत्सवहरु कम्तिमा वर्षको २ पटक आयोजना गर्नुपर्ने बताउनुहुँदै उहाँले बागमती प्रदेशले गरेको यो महोत्सवको सिको सबै प्रदेशले गर्नुपर्ने पनि बताउनुभयो ।
कार्यक्रमका अतिथि मकवानपुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. श्री यमबहादुर सिलवालज्यूले महोत्सवले विशेष गरी श्रम बजारमा आउन चाहने विद्यार्थीहरुले यथेष्ट लाभ लिन सक्ने बताउनुहुँदै श्रम बजारमा आगामी दिनहरुमा विद्यार्थीहरुले नै रोजगारीको क्षेत्रमा पाईला चाल्नुपर्ने बताउनुभयो । शैक्षिक संस्थाहरुबाट नै उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरु उत्पादन हुने भएकोले शैक्षिक क्षेत्र, निजी क्षेत्र र सरकार मिलेर अघि बढ्ने हो भने श्रम बजारलाई आवश्यक दक्ष जनशक्ति उत्पादनमा कमी नहुने पनि उहाँले बताउनुभयो । महोत्सव यो कार्यको शुरुवात भएको र यसको निरन्तरताको लागि अनुरोध गर्नुहुँदै उहाँले मकवानपुर जिल्ला १० देखि १५ जिल्लाका विद्यार्थीहरुको शैक्षिक हब हुँदै गएको बताउनुभयो ।
समुद्घाटनपश्चात आयोजित जीवनवृत्ति सम्बन्धी कार्यशाला गोष्ठीमा एनसेल नेपालका प्रशिक्षक श्री आयुष्मान ताम्राकारज्यूले उपस्थित विद्यार्थीहरु एवम् रोजगारीको खोजीमा रहेको व्यक्तिहरुलाई आफ्नो प्रस्तुतिकरण मार्फत जीवनको आगामी बाटो पहिल्याउने तरिकाको विषयमा मार्गदर्शन गर्नुभएको थियो । प्रस्तुतिकरणमा सहभागीहरुबाट आएका प्रश्नहरुको प्रशिक्षक ताम्राकारज्यूले जवाफ दिनुभएको थियो । कार्यशाला गोष्ठीमा ११० जना भन्दा बढीको सहभागिता रहेको थियो ।
महोत्सवकै अवसरमा “श्रममा युवाः प्रदेश सरकारको भूमिका” विषयक छलफल कार्यक्रम आयोजना गरिएको थियो । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका राजस्व परामर्श समिति सदस्य श्री उज्वल चौलागाईज्यूले संचालन गर्नुभएको छलफल कार्यक्रममा श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेशका श्रीमान् सचिव बीरेन्द्र देव भारतीज्यू, महिला उद्यमी महासंघ नेपालका अध्यक्ष श्री शोभा ज्ञवालीज्यू र त्रिभुवन विश्वविद्यालयका बरिष्ठ प्राध्यापक डा. केशव बस्यालज्यूको उपस्थिति रहेको थियो । छलफल विशेष गरी युवा उद्यमको प्रवद्र्धनमा बागमती प्रदेश सरकारको भूमिकाको विषयमा केन्द्रित रहेको थियो । छलफल कार्यक्रममा उपस्थित सहभागीहरुको जिज्ञासाको जवाफ सम्बन्धित व्यक्तित्वहरुले दिनुभएको थियो ।
सफल उद्यमीको कथावाचन कार्यक्रममा हेटौंडाका प्रतिष्ठित व्यवसायी तथा मकवानपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष श्री अरुणराज सुमार्गीज्यूले आफ्नो सफलताको कथा वाचन गर्नुभएको थियो । सफल उद्यमीको रुपमा आपूmलाई उभ्याउनु भएका सुमार्गीज्यूले आफ्नो उद्यमको शुरुवातदेखिको संघर्षको कथा वाचन गर्नुभएको थियो । सहभागीहरुबाट उठेका जिज्ञासाहरुको जवाफ दिनुहुँदै सफल उद्यमी श्री अरुणराज सुमार्गीज्यूले महोत्सवमा आपूmलाई सफल उद्यमीको रुपमा आफ्नो संघर्षको कथा सुनाउने मौका प्रदान गरी आमन्त्रित गर्नुभएकोमा आयोजक संस्थालाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।
महोत्सवमा आउनुभएका विज्ञ, प्रशिक्षकज्यूहरुलाई प्रमुख अतिथिज्यूले मायाको चिनो प्रदान गर्नुभएको थियो भने प्रमुख अतिथिज्यूलाई सभाध्यक्ष श्री कविराज खत्रीज्यूले मायाको चिनो प्रदान गर्नुभएको थियो भने महोत्सवमा स्टल राखी सहभागी हुने सबै उद्योग प्रतिष्ठान, सरकारी, गैरसरकारी संघसंस्थालगायतलाई प्रमुख अतिथि माननीय श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनज्यूले सहभागिताको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।
मकवानपुर उद्योग वाणिज्य संघका महासचिव श्री प्रतिमा श्रेष्ठज्यूले संचालन गर्नुभएको महोत्सवको अन्त्यमा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कोषाध्यक्ष एवम् बागमती युवा उद्यमी महोत्सवका सभाध्यक्ष श्री कविराज खत्रीज्यूले सर्वप्रथम यो महोत्सव आयोजना गर्न सहयोग गर्नुभएकोमा श्रम, रोजगार तथा यातायात मन्त्रीज्यूलगायत सम्पूर्ण मन्त्रालय परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो । ४० वटा विभिन्न राष्ट्रिय, बहुराष्ट्रिय उद्योग, विभिन्न कम्पनीहरुले महोत्सवलाई विश्वास गरि सहभागी भईदिनु भएकोमा सम्पूर्ण निजी, सरकारी तथा गैरसरकारी संघसंस्थाहरुलाई पनि हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो । प्रमुख अतिथि, विशिष्ट अतिथि, विज्ञज्यूहरु र सम्पूर्ण अतिथिज्यूहरुलाई पनि उपस्थित भई महोत्सवको शोभा बढाईदिनु भएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभयो ।