बागमती प्रदेशको वाणिज्य नीति मस्यौदा उपर छलफल कार्यक्रम सम्पन्न । २०८२ जेठ १४
बागमती प्रदेश सरकारबाट तयार गरिएको वाणिज्य नीतिको मस्यौदा उपर निजी क्षेत्रका उद्योगी व्यवसायीहरुबीच छलफल गरी वाणिज्य नीतिमा ल्याईनु पर्ने विषयहरु र राय सुझावहरु संकलन गर्ने उद्देश्यका साथ आयोजना गरिएको नीति संवाद एवम् छलफल कार्यक्रम बागमती प्रदेश सरकार उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका सचिव श्री हेमराज भुषालज्यूको सभाध्यक्षता, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष श्री दिल सुन्दर श्रेष्ठज्यूको प्रमुख आतिथ्यता, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यहरु श्री डि.बी. बस्नेत, श्री वेद बहादुर श्रेष्ठ, श्री ताराबहादुर कार्की, श्री रोशनी मैंया धौवञ्जा, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय बागमती प्रदेशका महाशाखा प्रमुख श्री महेशराज पौडेलज्यूको आतिथ्यतामा आयोजना गरिएको थियो ।
प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष श्री दिल सुन्दर श्रेष्ठज्यूले नीति बनाउन उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयसंग सहकार्य गरी कार्यक्रम आयोजना गर्न पाउँदा खुशी लागेको बताउनुभयो । उत्पादित बस्तुहरुको ब्राण्डिङ्ग, प्याकेजिङ्गसंग सम्बन्धित तालिम कार्यक्रमहरु आयोजना हुँदै आएको बताउनुहुँदै उहाँले नेपाली बस्तुहरुको गुणस्तर अन्तर्राष्ट्रियस्तरको बनाई निर्यात गर्नुपर्ने नीति बन्नुपर्ने बताउनुभयो । साना व्यवसायीहरुलाई सहज रुपमा सस्तो व्याज दरमा कर्जा उपलब्ध गराईनुपर्ने र नेपाली परम्परागत पोशाक तथा अन्य मूल्य अभिबृद्धि हुने वस्तुहरुको निर्यातमा सहज वातावरण बनाउन प्रदेश सरकारले नै पहल गर्नुपर्ने पनि उहाँले बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवम् कृषि उद्यम केन्द्रका सभापति श्री डि.बी. बस्नेतज्यूले कार्यक्रम आयोजना प्रति आभार र धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा उठेका सुझावहरु यथासम्भव तोडमोड नगरीकन नीतिमा राखिदिन अनुरोध गर्नुहुँदै उहाँले बागमती प्रदेश सबैकुरामा उपयुक्त भएको र औद्योगिक ग्राम र प्रदर्शनीस्थलको खाँचो रहेको औंल्याउनुभयो । दुग्ध सामग्री निर्यातमा अनुदानको आवश्यकता, कृषि क्षेत्रको बीमा र बिद्युतमा अनुदानको आवश्यकता, गुणस्तर परीक्षणको लागि अन्तर्राष्ट्रियस्तरको ल्याबको आवश्यकता रहेको बताउनुहुँदै उहाँले ल्याब संचालनमा नेपाल उद्योग वाणिज्य महासंघ सहकार्य गर्न तयार रहेको पनि बताउनुभयो । सरकारी लगानीमा बनेका प्रदेशभरिका कोल्ड स्टोरेजहरु कृषि उद्यम केन्द्र मार्फत संचालन गर्न तयार रहेको बताउनुहुँदै उहाँले Contract Farming Act आवश्यकता रहेको पनि बताउनुभयो ।
कार्यक्रममा वाणिज्य नीति मस्यौदा उपर उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयका महाशाखा प्रमुख श्री महेशराज पौडेलज्यूले र नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको तर्फबाट श्री हिमाल थापाज्यूले प्रस्तुतिकरण पेश गर्नुभएको थियो । छलफलका क्रममा बागमती प्रदेशका विभिन्न जिल्ला नगर उद्योग वाणिज्य संघ र बस्तुगत संघसंस्थाका अध्यक्ष एवम् पदाधिकारीज्यूहरुले उद्योगी व्यवसायीहरुले भोग्नु परिरहेको समस्याहरुको समाधानका लागि नीतिमा समेटिनु विषयहरु उपर आ–आफ्नो भनाई राख्नुभएको थियो ।
नेपालबाट निर्यात हुने वस्तुहरुमा उनी गलैचा, टेक्सटाईल, आईरन, स्टिल, तयारी पोशाक र हस्तकलाका बस्तुहरु थप गर्नुपर्ने, समस्या र चुनौती शीर्षकमा उच्च ढुवानी लागत थप गर्नुपर्ने, निकासी हुने बस्तुको गुणस्तर, क्वारेण्टाईन तथा SPS मान्यता प्राप्त प्रमाणपत्र जारी गर्ने सुविधाको अभावले निकासी प्रभावित भएको, कृषि, हस्तकलालगायत SMEs को उत्पादन र उत्पादकत्व बढाउन प्रविधि भित्र्याउनु पर्ने, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरको व्यापार मेला/एक्सपो ५ वर्षे क्यालेण्डर बनाई प्रचार प्रसार गर्नुपर्ने, महिला उद्यमीलाई ३० प्रतिशत अनुदानको विषय स्पष्ट हुनुपर्ने, हस्तकला र स्थानीय उत्पादनको निर्यात बढाउन प्रदेशभित्र हस्तकला ग्राम तथा निर्यात प्रशोधन केन्द्रहरु स्थापना गर्ने, व्यापार सन्तुलनका लागि आयात प्रतिस्थापन गर्न कृषिजन्य बस्तुहरुको संकलन, भण्डारण, प्रशोधन र बजार प्रवद्र्धन गर्न supply chain को विकास गर्ने, निर्यात प्रवद्र्धनकालागि नेपाली कुटनैतिक नियोग परिचालन गरी B2B बैठक र प्रदर्शनीहरु आयोजना गर्ने र प्रतिनिधिमण्डल पठाउनेलगायतका बुँदाहरु थप गरिनुपर्ने विषयमा ध्यानाकर्षण गराउनुभयो । साथै नेपालले आयात र निर्यात दुवै गर्दा अन्य मुलुकको तुलनामा समय र लागत धेरै हुने भएकोले ढुवानी र पारवहन लागत र समय दुवै न्यूनिकरण गराउनुपर्ने, निकासीजन्य वस्तुहरु न्यून भएकोले सम्भावना भएका नयाँ बस्तुहरुको खोजी र पहिचान गरी निकासी प्रवद्र्धनमा सघाउनुपर्ने, १३ वटै जिल्लामा अपार सम्भावना भएका प्राकृतिक श्रोत र साधनहरुको पहिचान गरी प्रशोधन सम्भावना भएका बस्तुहरुको प्रवद्र्धन गर्नुपर्ने, स्थानीय श्रोत र उत्पादनको अधिकतम उपयोग गर्नका साथै निर्यात गर्न प्रदेशका विभिन्न पकेट क्षेत्रमा संकलन तथा प्रशोधन केन्द्र स्थापना गरिदिनुपर्ने, सार्वजनिक ढुवानी साधनको आयातमा लाग्ने भन्सार र कर लगायत बैंक व्याजमा सहुलियत प्रदान गरि अनुदान दिईनुपर्ने, स्थानीय उत्पादित बस्तु अनुसार तालिम, संकलन, प्रशोधन, आपूर्ति गर्ने हबको रुपमा विकास गर्ने नीति अवलम्बन गरिनु पर्नेलगायतका विषयहरु समेटिनु पर्ने विषयमा ध्यानाकर्षण गराईएको थियो ।
उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका सचिव श्री हेमराज भुषालज्यूले छलफलपश्चात नीतिको मस्यौदा परिपक्व भएको बताउनुभयो । छलफलबाट प्राप्त सुझावहरु थप गर्दै सुधार गरिने बताउनुहुँदै उहाँले वाणिज्य नीतिमा बागमती प्रदेशका सबै जिल्लालाई समेटेर लाने बताउनुभयो । उहाँले वाणिज्य नीति बनाउँदै गर्दा उद्योगी व्यवसायीको समस्या बुझेरै मात्र बनाउन यो कार्यक्रम आयोजना गरिएको बताउनुहुँदै सरकार निजी क्षेत्रसंग सहकार्य गरेरै अघि बढ्न चाहेको बताउनुभयो । अब बन्ने वाणिज्य नीतिमा उद्योगी व्यवसायीहरुले भोग्नु परिरहेको समस्याहरु समाधान गर्ने प्रयास गर्ने र वाणिज्य नीति मस्यौदा माथि उद्योगी व्यवसायीहरुबाट प्राप्त लिखित तथा मौखिक राय सुझावहरु समेटेर अघि बढ्ने बताउनुभयो । प्राप्त सुझावहरुको लागि उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय बागमती प्रदेशको तर्फबाट हार्दिक धन्यवादज्ञापन गर्दै सहभागिताकोलागि सबै सहभागीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कार्यकारी निर्देशक श्री विवेक मानन्धरज्यूले संचालन गर्नुभएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यज्यूहरु, नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी, कार्यकारिणी समिति सदस्यज्यूहरु, बागमती प्रदेशका जिल्ला नगर उद्योग वाणिज्य संघहरुका अध्यक्ष एवम् पदाधिकारीज्यूहरु, विभिन्न बस्तुगत संघसंस्थाका अध्यक्ष एवम् पदाधिकारीज्यूहरु समेत गरी ७६ जनाको उपस्थिति रहेको थियो ।