बागमती प्रदेशको उद्योग नीति मस्यौदा उपर छलफल कार्यक्रम सम्पन्न । २०८२ जेठ १३

बागमती प्रदेशको उद्योग नीति मस्यौदा उपर छलफल कार्यक्रम सम्पन्न । २०८२ जेठ १३
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशले बागमती प्रदेश सरकार उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयसंगको सहकार्यमा हेटौंडामा बागमती प्रदेशको उद्योग नीति मस्यौदा उपर निजी क्षेत्रका उद्योगी व्यवसायीहरुसंग छलफल कार्यक्रम आयोजना गरेको छ । बागमती प्रदेश सरकार उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका सचिव श्री हेमराज भुषालज्यूको सभाध्यक्षता, बागमती प्रदेश सरकार उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका माननीय मन्त्री सुकमाया तामाङ्गज्यूको प्रमुख आतिथ्यता, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष श्री दिल सुन्दर श्रेष्ठज्यू र बागमती प्रदेश नीति तथा योजना आयोगका सदस्य गुणराज मोक्तानज्यूको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष श्री दिल सुन्दर श्रेष्ठज्यूले सरकारले नीति नियम बनाउँदा सम्बन्धित पक्षहरुसंग छलफल नगरी बनाउँदा कालान्तरमा विभिन्न समस्याहरु आउने स्थिति आईरहेको सन्दर्भमा बागमती प्रदेश सरकारले सम्बन्धित पक्षहरुसंग छलफल गरी नीति निर्माण गर्न खोजेकोमा माननीय मन्त्रीज्यू, सचिवज्यू र सम्पूर्ण उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयलाई हार्दिक धन्यवादज्ञापन गर्नुभयो । छलफल कार्यक्रमबाट अब बन्ने बागमती प्रदेश सरकारको उद्योग नीतिले वर्तमान समयमा उद्योगी व्यवसायीहरुले भोग्नु परिरहेका समस्याहरु समाधान गर्ने विश्वास व्यक्त गर्नुहुँदै उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभयो ।
प्रमुख अतिथि उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयका मन्त्री माननीय सुकमाया तामाङ्गज्यूले राज्यको विकासमा निजी क्षेत्रको भूमिका अतुलनीय रहेको बताउनुभयो । आफू पनि सानो उद्यमी नै भएको बताउनुहुँदै उहाँले उद्योगी व्यवसायीले भोग्नु परिरहेको समस्याहरु बुझेको बताउनुभयो । दर्ता प्रकृयाका झण्झट, दोहोरो कर, ढुवानी, जग्गा प्राप्ति समस्याहरुलगायतका कारण उद्योगी व्यवसायीको मनोबल दिनानुदिन गिर्दै गईरहेको बताउनुहुँदै यस्तै समस्याहरुको समाधानका लागि अब बन्ने नीतिमा सम्बोधन गराउन सबै सरोकारवाला निकायहरुसंग छलफल गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो । विना छलफल र पूर्व तयारीका कारण प्रदेश सरकारले लगानी गरेको औद्योगिक ग्राममा लगानी खेर गईरहेको उहाँले बताउनुभयो । प्रदेश सरकारले उद्योग दर्ता गर्न, औद्योगिक क्षेत्र कायम गर्न संघीय सरकारलाई सिफारिश मात्र गर्न सक्ने बताउनुहुँदै उहाँले शक्तिखोर, मयुरधाप जस्ता औद्योगिक क्षेत्रहरु संघीय सरकारले हेर्ने भएकोले प्रदेश मातहतमा ल्याउने प्रयास भईरहेको पनि बताउनुभयो । सिन्धुली, नुवाकोट जस्ता जिल्लाहरुमा औद्योगिक ग्राम स्थापनाको लागि अध्ययन अघि बढेको बताउनुहुँदै उहाँले अब आउने उद्योग नीतिमा उद्योगी व्यवसायीका समस्याहरु पूरापूर सम्बोधन गर्ने प्रयास गर्ने बताउनुभयो ।     
त्यसै गरी विशिष्ट अतिथि बागमती प्रदेश नीति तथा योजना आयोगका सदस्य श्री गुणराज मोक्तानज्यूले नीति बनाउँदा दीर्घकालीन बनाउनुपर्ने र नीति निर्माण गर्दा नागरिकको सहभागिता अपरिहार्य हुनुपर्ने बताउनुभयो । उद्योग नीति बनाउँदै गर्दा उद्योगीहरुसंगको छलफल कार्यक्रममा उल्लेखनीय उद्योगीहरुको उपस्थितिले आफूलाई खुशी लागेको बताउनुहुँदै उहाँले अर्थतन्त्रको आधार नै उद्योग भएकोले बागमती प्रदेशको हकमा उद्योगमैत्री नीति बन्न जरुरी रहेको बताउनुभयो । दुई ठूला राष्ट्रहरुको अर्थतन्त्रको बीचमा रहेको देशको सबैभन्दा धेरै आर्थिक कारोबार हुने बागमती प्रदेशमा उद्योग दर्ता प्रकृया सहज बनाउने, उद्योगमैत्री कर नीतिहरु बन्नुपर्ने पनि उहाँले बताउनुभयो । समग्र देशको आर्थिक मेरुदण्ड नै उद्योगको विकास रहेको बताउनुहुँदै उहाँले छलफल कार्यक्रमबाट आएका सुझावहरुलाई उद्योग नीतिमा समेट्न प्रदेश नीति तथा योजना आयोगले पनि सक्दो प्रयास गर्ने बताउनुभयो । 
कार्यक्रममा उद्योग नीति मस्यौदा उपर उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयका महाशाखा प्रमुख महेशराज पौडेलज्यूले र नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको तर्फबाट हिमाल थापाज्यूले प्रस्तुतिकरण पेश गर्नुभएको थियो । छलफलका क्रममा बागमती प्रदेशका विभिन्न जिल्ला नगर उद्योग वाणिज्य संघ र बस्तुगत संघसंस्थाका अध्यक्ष एवम् पदाधिकारीज्यूहरुले उद्योगी व्यवसायीहरुले भोग्नु परिरहेको समस्याहरुको समाधानका लागि नीतिमा समेटिनु विषयहरु उपर आ–आफ्नो भनाई राख्नुभएको थियो । नेपालबाट निर्यात गर्न सकिने वस्तुहरुको गुणस्तर, क्वारेन्टाइन तथा SPS सम्बन्धी प्रमाणपत्र जारी गर्ने अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशालाको अभावको कारण नेपाली उत्पादनले ठूलो समस्या व्यहोर्नु परेको, नेपाली उद्योगले प्रयोग गर्ने कच्चा पदार्थ स्वदेशबाट आयात गर्दा तथा स्वदेशी कच्चा पदार्थ संकलन गरी उद्योगसम्म पु¥याउँदा वा उत्पादित वस्तु निर्यात गर्दा वा स्वदेश मै वितरण गर्दा चर्को ढुवानी भाडा तिर्नु परेको अवस्थाले गर्दा नेपाली उत्पादन आयातित वस्तुहरुसंग प्रतिस्पर्धी हुन नसकिरहेको, आयात प्रतिस्थापन गर्ने उद्योगहरुको दिगोपनको ग्यारेण्टी गरी थप रोजगारी श्रृजना गर्न नसकिएको, उद्योगलाई आवश्यक जग्गा औद्योगिक क्षेत्रहरुमा पाउन नसकिएको, औद्योगिक क्षेत्रहरुको संचालन निजी क्षेत्रसंगको साझेदारीमा गर्न सकिने व्यवस्था नराखिएकोमा ध्यानाकर्षण गराईएको थियो ।
    उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका सचिव श्री हेमराज भुषालज्यूले हरेक नीतिमा समसामयिक परिमार्जन जरुरी हुने बताउनुभयो । संघीय सरकार र स्थानीय सरकारबीचको स्याण्डविच जस्तै रहेको प्रदेश सरकारले अधिकार क्षेत्र बाहिरको कार्यमा समन्वय मात्र गर्न सक्ने बताउनुहुँदै उहाँले उद्योग नीति बनाउँदै गर्दा उद्योगी व्यवसायीको समस्या बुझेर मात्र बनाउन नै यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । सरकार निजी क्षेत्रसंग सहकार्य गरेरै अघि बढ्न चाहेको बताउनुहुँदै उहाँले अब बन्ने उद्योग नीतिमा उद्योगी व्यवसायीहरुले भोग्नु परिरहेको समस्याहरु समाधान गर्ने प्रयास गर्ने बताउनुभयो । उद्योग नीति मस्यौदा माथि उद्योगी व्यवसायीहरुबाट प्राप्त लिखित तथा मौखिक राय सुझावहरुले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय बागमती प्रदेशबाट बन्न लागेको आगामी उद्योग नीतिमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुहुँदै सहभागिताकोलागि सबै सहभागीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कार्यकारी निर्देशक श्री विवेक मानन्धरज्यूले संचालन गर्नुभएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यज्यूहरु, नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी, कार्यकारिणी समिति सदस्यज्यूहरु, बागमती प्रदेशका जिल्ला नगर उद्योग वाणिज्य संघहरुका अध्यक्ष एवम् पदाधिकारीज्यूहरु, विभिन्न बस्तुगत संघसंस्थाका अध्यक्ष एवम् पदाधिकारीज्यूहरु समेत गरी ७७ जनाको उपस्थिति रहेको थियो ।