हेटौँडा उपमहानगरले करका दर बढाएकोमा उद्योग वाणिज्य महासंघ बागमतीको आपत्ति ! 2081.04.30

हेटौँडा उपमहानगरले करका दर बढाएकोमा उद्योग वाणिज्य महासंघ बागमतीको आपत्ति ! 2081.04.30
विश्वव्यापी कोभिड महामारीले शिथिल भएको निजी क्षेत्र विस्तारै अघि बढ्दै गरेको अवस्था जगजाहेर नै छ । राष्ट्रको विकासमा निजी क्षेत्र पनि एउटा दरिलो खम्बा हो भन्ने राज्यले भने आफै निजी क्षेत्रलाई निरन्तर प्रहार गर्दै आईरहेको हामीलाई लागेको छ । निजी क्षेत्रले राष्ट्रको अर्थतन्त्रमा कसरी योगदान गरिरहेको छ भन्ने बुझेरै पनि होला राज्यले निजी क्षेत्रलाई नै बढी चेपुवामा पार्दै गईरहेको अनुभूति निजी क्षेत्रले गर्दै आईरहेको छ । आर्थिक तरलताले निजी क्षेत्र जति चलायमान हुनुपर्ने हो त्यो हुन नसकिरहेको, बैंक तथा वित्तिय संस्थाहरुबाट अपेक्षा अनुसार ऋण प्रवाह नभईरहेको, मुद्रास्फिती झन् झन् बढ्दै गईरहेको, कच्चा पदार्थ तथा बेलाबेलामा हुने ईन्धनको मूल्यबृद्धिका कारण बजार भाउ निरन्तर उकालो लाग्दै गईरहेको, महंगीका कारण आम सर्वसाधारण समेत प्रताडित हुनु परिरहेको यो अवस्थामा कतिपय व्यवसायीहरु व्यवसायबाट नै पलायन भईसकेको अवस्था छ ।
यस्तो विषम परिस्थितिबाट गुज्रिरहेका उद्योगी व्यवसायीहरुलाई थप आक्रान्त बनाउने उद्देश्यले हेटौंडा उपमहानगरपालिकाले आ.व. २०८१÷८२ को विभिन्न शीर्षकका राजश्व दरहरु १५० प्रतिशतसम्म बृद्धि गर्नुले समस्त निजी क्षेत्रलाई नै सशंकित तुल्याएको छ । वर्तमान जर्जर अवस्थामा रहेका उद्योगी व्यवसायी तथा आम सर्वसाधारण समेतलाई मध्यनजर गर्दै हेटौंडा उपमहानगरपालिकाबाट एकपक्षीय रुपमा गरिएको यो अस्वाभाविक राजश्वका दर बृद्धिको मकवानपुर उद्योग वाणिज्य संघबाट गरिएको विरोधमा यस नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको पनि साथ, सहयोग र ऐक्यबद्धता रहेको सम्बन्धित सबैको जानकारीको लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ । 
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशकै सकृय पहल एवम् पैरवीमा आ.व. २०८१÷८२ बाट बागमती प्रदेशभरिका उद्योग व्यवसाय नविकरण गर्दा लाग्ने दस्तुर तथा जरिवानाहरुमा उल्लेखनीय रुपमा छुट प्रदान गर्न सफल भएकोमा स्थानीय सरकारको रुपमा रहेको हेटौंडा उपमहानगरपालिकाले भने करको दायरा बढाउनुको साटो करका दरहरु अस्वाभाविक रुपमा बृद्धि गर्नु लज्जास्पद रहेको हामीलाई लागेको छ । आम सर्वसाधारणदेखि साना, लघु तथा घरेलु, मझौला उद्योगीहरुसम्मलाई यो अस्वाभाविक करका दर बृद्धिले थप प्रताडित गर्ने स्पष्टै छ । मकवानपुर उद्योग वाणिज्य संघलगायत निजी क्षेत्रका विभिन्न बस्तुगत संघसंस्थाहरुले हेटौंडा उपमहानगरपालिका कार्यालयको यो कर बृद्धि यथाशीघ्र फिर्ता लिन गरेको आन्दोलनमा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको पूर्ण समर्थन रहेको यसै विज्ञप्ति मार्फत जानकारी गराईन्छ । साथै हेटौंडा उपमहानगरपालिका कार्यालयलाई पनि कर बृद्धि फिर्ताको लागि हार्दिक अपील गर्दै उद्योगी व्यवसायीहरु र आम सर्वसाधारणलाई सहज ढंगमा काम गरेर खाने वातावरण तयार गरिदिन हार्दिक अनुरोध गर्दछौं । 

.....................
दिल सुन्दर श्रेष्ठ
अध्यक्ष
नेपाल उद्योग वाणिज्य महासंघ – बागमती प्रदेश

Click Here for the Press Release/ckfinder/userfiles/files/WhatsApp%20Image%202024-08-15%20at%2012_25_12.jpeg