सरकारसंगको सहकार्यमा निजी क्षेत्रको प्रतिबद्धता । २०८१ जेठ २०

सरकारसंगको सहकार्यमा निजी क्षेत्रको प्रतिबद्धता । २०८१ जेठ २०


बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली कार्यान्वयनमा निजी क्षेत्रले पनि ऐक्यबद्धता जाहेर गरेका छन् । सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको आयोजना एवम् नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको संयोजनमा २०८१ जेठ २० गते हेटौंडामा भएको अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेशका सबै जिल्ला नगर उद्योग वाणिज्य संघहरुले प्रतिबद्धता जाहेर गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठज्यूको सभाध्यक्षता एवम् बामगती प्रदेश सामाजिक विकास मन्त्री माननीय कुमारी मोक्तानज्यूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली कार्यक्रमका टिम लिडर सुवास सुवेदीज्यूले राष्ट्रिय व्यावसायिक योग्यता प्रणालीको महत्व, सीप परिक्षण र रोजगारी प्रवद्र्धनमा निजी क्षेत्रको भूमिका विषयक प्रस्तुतिकरण पेश गर्नुभएको थियो । त्यसैगरी राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली कार्यक्रमका सुक बहादुर चौधरीज्यूले हालसम्म यस कार्यक्रमका लागि निजी क्षेत्रले पुर्याएको सहयोगको विषयमा जानकारी प्रदान गर्नुभएको थियो । अन्तरक्रिया कार्यक्रममा माननीय कुमारी मुक्तानज्यूले प्रदेश सरकार दक्ष जनशक्ति उत्पादनमा लागिपरेको र सीप वर्ष घोषणा गर्ने तयारी भईरहेको बताउनुभयो । सबै क्षेत्रमा दक्ष जनशक्ति पुर्याउन तीनै तहका सरकार र निजी क्षेत्रले छलफल गरी सहकार्य गर्नुपर्ने भएकोले आगामी वर्ष निजी क्षेत्रसंग जोडेर बजेट आउने आश्वासन दिनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठज्यूले राष्ट्रिय व्यावसायिक योग्यता प्रणालीको विकासले दक्ष जनशक्ति देशमै प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी सामाजिक विकास मन्त्रालय बागमती प्रदेशका सचिव राजन पौडेलज्यूले सरकारको सबै कार्यक्रमहरु निजी क्षेत्रको साथ विना अघि बढ्न नसक्ने प्रष्ट पार्नुभयो । सामाजिक विकास मन्त्रालय बागमती प्रदेशका अधिकृत खुबिराम अधिकारीले संचालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य महाशाखा प्रमुख श्रीधर नेपालले राख्नुभएको थियो । समापन मन्तव्य राख्नुहुँदै नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठज्यूले निजी क्षेत्रसंगको सहकार्यमा मात्रै कुनै पनि राष्ट्र अघि बढ्न सक्ने बताउनुभयो । समापन मन्तव्यपश्चात अध्यक्ष श्रेष्ठज्यूले प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुभए लगत्तै सबै जिल्ला नगर उद्योग वाणिज्य संघ तथा बस्तुगत संघसंस्थाका अध्यक्ष एवम् प्रतिनिधिज्यूहरुले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए ।