नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सिकाई तथा अनुभव आदानप्रदान भ्रमण टोलीको स्वागत तथा छलफल कार्यक्रम सम्पन्न । (2080.12.17)

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सिकाई तथा अनुभव आदानप्रदान भ्रमण टोलीको स्वागत तथा छलफल कार्यक्रम सम्पन्न । (2080.12.17)  
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशले नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका ३० वटा जिल्ला नगर उद्योग वाणिज्य संघहरुको सचिवालय प्रमुखहरुसहितको टोलीको स्वागत तथा छलफल कार्यक्रम हेटौंडामा सम्पन्न गरेको छ । सिकाई तथा अनुभव आदान प्रदान गर्ने उद्देश्यकासाथ कोशी प्रदेशका कार्यकारिणी सदस्य बिरेन्द्र साहको नेतृत्वमा आउनुभएका भ्रमण टोलीलाई बागमती प्रदेशले स्वागत गरेको हो । बागमती प्रदेश महासंघका अध्यक्ष दिल सुन्दर श्रेष्ठले स्वागत मन्तव्य राख्नुहुँदै भ्रमण कार्यक्रमले उद्योग वाणिज्य संघहरुले अन्य उद्योग वाणिज्य संघहरुको सचिवालय व्यवस्थापन, नियमित र विकासमूलक कार्यक्रम कार्यान्वयन, संस्थागत सुशासन, स्रोत व्यवस्थापन जस्ता विषयमा रहेका असल अभ्यासबारे जानकारी लिने र आफ्नो अनुभव एक आपसमा साट्ने महत्वपूर्ण माध्यम हुने बताउनुभयो । स्वागत तथा छलफल कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कार्यकारी निर्देशक विवेक मानन्धरले बागमती प्रदेशले निर्वाह गर्दै आएको भूमिका र गतिविधिहरुको बारेमा प्रस्तुतिकरण दिनुभएको थियो भने कोशी प्रदेश महासंघको तर्फबाट कोशी प्रदेश महासंघका कार्यकारिणी सदस्य बिरेन्द्र साहले कोशी प्रदेशको गतिविधिहरु बारे प्रस्तुतिकरण दिनुभएको थियो । द एशिया फाउण्डेशनका कार्यक्रम अधिकृत नितिश श्रेष्ठले कोशी प्रदेश महासंघसंग सहकार्य गर्दै आएकोमा आगामी दिनमा बागमती प्रदेश महासंघसंग पनि जोडिन चाहेको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका उपाध्यक्ष गुणराज श्रेष्ठले धन्यवादज्ञापनसहित समापन गर्नुभएको स्वागत तथा छलफल कार्यक्रममा बागमती प्रदेश महासंघका कोषाध्यक्ष कविराज खत्री, कार्यकारिणी सदस्य जीवनकाजी माकजु श्रेष्ठ, गीता अमात्य, लक्ष्मी खनाल, कोशी प्रदेश महासंघका कार्यकारी निर्देशक श्याम भण्डारी, द एशिया फाउण्डेशनका सन्दीप श्रेष्ठ, सिईओ प्रा.लि.का अनिरुद्र न्यौपानेलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको अन्त्यमा दुवै प्रदेश महासंघले एक अर्कालाई मायाको चिनो प्रदान गरिएको थियो । चैत्र १६ गते देखि २० गते ५ दिनसम्म हुने उक्त भ्रमण गर्ने क्रममा मधेश प्रदेशको लहान उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश, जनकपुर उद्योग वाणिज्य संघ, मकवानपुर उद्योग वाणिज्य संघ, पोखरा उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश, स्याङ्जा उद्योग वाणिज्य संघ, पाल्पा उद्योग वाणिज्य संघ, बुटबल उद्योग वाणिज्य संघ, सिद्धार्थ उद्योग वाणिज्य संघ एवम् नेपाल उद्योग वाणिज्य महासंघ लुम्विनी प्रदेशलगायतमा पुग्ने कोशी प्रदेश महासंघका कार्यकारी निर्देशक श्याम भण्डारीले बताउनुभयो ।