दुई प्रदेश महासंघ बिच अन्तक्रिया कार्यक्रम

दुई प्रदेश महासंघ बिच अन्तक्रिया कार्यक्रम
२०७८ पौष १ गते

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश र प्रदेश नं २ बिच अन्तरक्रिया तथा बि टु बि बैठक सम्पन्न भएको छ । दुबै प्रदेश महासंघका कार्यसमितिका पदाधिकारीहरुको उपस्थितिमा बानेश्वरको अल्फा हाउस बैकेटमा सम्पन्न सो अन्तक्रियात्मक बैठकमा ब्यवसायीहरुको साझा समस्या र समाधानका उपायहरुको बारेमा अन्तक्रिया गरिएको थियो ।

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठको प्रमुख आतिथ्यता तथा बागमती प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठको सभापतित्वमा सम्पन्न सो अन्तरक्रियात्मक बैठकमा प्रदेश नं २ का अध्यक्ष गणेश प्रसाद लाठको बिशिष्ठ आतिथ्यता रहेको थियो । कार्यक्रममा उपस्थित दुबै प्रदेश महासंघका पदाधिकारीहरुले सरकारले ल्याएको नितिहरु ब्यवसाय मैत्री नभएको गुनासो पोखेका थिए ।

सीमाको ब्यापारीहरुलाई दुरुत्साहन गर्ने सरकारी निती प्रती सबै उद्योगी ब्यवसायिहरुले आवाज उठाउनु पर्ने राय ब्यक्त गर्दै सहभागीहरुले सिमामा नगद सटही काउण्टरको ब्यवस्था गर्नु पर्ने लगायत नयाँ उद्योग स्थापना गर्ने उद्योगीहरुको लागि एकिकृत कानून लागु गर्नु पर्ने लगायतका मुद्दाहरुलाई शसक्त रुपमा उठाउनु पर्ने बिचार ब्यक्त गरेका थिए ।

महासंघको प्रदेश नं २ का अध्यक्ष गणेश लाठले सिमा क्षेत्रमा उद्योग संचालन गर्न निक्कै कठिन भएको बताउँदै उद्योग स्थापनाको लागि सम्बन्धित निकायहरु पिच्छेनै फरक फरक नियम र प्रकृया अबलम्वन गर्नु पर्ने भएकोले उद्योगीहरुले सास्ती खेप्नु परेको र हतास भएर फर्कनु पर्ने अवस्था रहेको बताउनु भयो ।

अनावश्यक नीति नियम र कानून थोपर्नाले ब्यवसायीहरु पलायन हुँदै गएको बताउँदै अध्यक्ष लाठले ब्यवसायी मैत्री नीति तथा कानूनहरु निर्माणका लागि सरकारले ध्यान नदिएको आरोप लगाउनु भयो ।

कार्यक्रममा आफ्नो बिचार ब्यक्त गर्दै महासंघ प्रदेश न २ का कार्यसमिति सदस्य सुबोध कुमार गुप्ताले उद्योग स्थापनाको लागि जग्गा खरिद गर्नमै ठूलो लगानी गर्नु पर्ने बाध्यता रहेको बताउँदै सरकारले प्रत्येक नगरमा औद्योगिक क्षेत्रको स्थापना गरिदिए उद्योगीहरुलाई सहज हुने बताउनु भयो । त्यस्तै उद्योगी हरी गौतमले जग्गा खरिद गरेर उधोग स्थापना गर्ने कार्यलाइ सरकारलेनै दुरुत्साहन गर्नु पर्ने बताउनु भयो ।

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले सरकारले उत्पादित मुल्य र बिक्री मुल्यको अन्तर २० प्रतिशत हुनु पर्ने भनी जबरजस्ती नियम लाद्न खोजेको आरोप लगाउँदै यहि नीतिलाई कार्यान्वयन गर्ने भए सबै उद्योगीहरुले आफ्नो उद्योगको साँचो सरकारको पोल्टोमा सुम्पेर हिंड्ने अवस्था आउने तर्फ सचेत गराउनु भएको थियो ।



त्यस्तै बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठले देश भरीकै उद्योगी तथा ब्यवसायीहरु एक जुट भएर उद्योगमैत्री नीति नियम निर्माणका लागि सरकारसंग आवश्यक वकालत, सहकार्य र समन्वय गर्नु पर्ने आवश्यकता औल्याउनु भयो ।

एकदिने सो अन्तरक्रियात्मक बैठकमा दुबै प्रदेशका ब्यापारी तथा उद्योगीहरु बिच एक अर्काको ब्यवसायलाई बढावा दिनको लागि के कस्तो सहयोग सहकार्य र समन्वय गर्न सकिन्छ भन्ने बारे बृहत छलफल समेत गरिएको थियो ।