हेटौंडामा बन्ने भयो उद्योग वाणिज्य महासंघको भवन

हेटौंडामा बन्ने भयो उद्योग वाणिज्य महासंघको भवन नेपाल उद्योग वाणिज्य महासंघ, बागमती प्रदेशको आफ्नै भवन बन्ने भएको छ ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिहीबार हेटौंडामा महासंघ बागमती प्रदेश कार्यालयको शिलान्यास गरेका हुन् ।

कार्यालय निर्माणले स्थानीय व्यावसायिक समूहका लागि दूरगामी प्रभाव सिर्जना गर्ने अपेक्षा गरिएको महासंघले जनाएको छ ।

व्यावसायिक निर्माण सम्पन्न भएपश्चात आधुनिक कार्यालय, बैठक कोठा र सम्मेलनको सुविधा उपलब्ध हुने बताइएको छ ।

उद्यमी, स्टार्टअप र स्थापित व्यवसायले यी सुविधाहरूमार्फत व्यापार तथा व्यवसायलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्न, सहकार्य एवम् सञ्जालका लागि प्रयोग गर्न सक्ने समेत महासंघले जनाएको छ ।

कार्यक्रममा महासंघका अध्यक्ष ढकालले यो प्रदेश व्यापार प्रवर्द्धन र नेटवर्कङिको हब बन्ने लक्ष्य राखिएको बताए । यसले स्थानीय उद्यम र अन्तर्राष्ट्रिय साझेदार बीचको सम्बन्धलाई बढावा दिन व्यापार मेला, उद्योग विशेष कार्यक्रम र वाणिज्य शिखर सम्मेलन आयोजना गर्ने समेत उनले बताए ।

उनका अनुसार कार्यालयमा बिजनेस इन्क्युबेटर र एक्सेलेटरका लागि स्थान राखिने भएको छ ।

उद्योग वाणिज्य महासंघ, बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठले कार्यालयले सीप विकास कार्यक्रम प्रस्ताव गर्न व्यावसायिक प्रशिक्षण संस्थान र विश्वविद्यालयसँग सहकार्य गर्ने योजना बनाएको जानकारी दिए ।

व्यावसायिक प्रतिस्पर्धालाई दक्ष जनशक्ति आवश्यकता रहेको र यो पहलले सीपको खाडललाई पूरा गर्ने समेत उनले बताए ।
 हेटौंडाको थानाभर्याङमा ३ कट्ठाको जमीनमा सचिवालय भवन निर्माण गर्नका लागि  शिलान्यास भएको हो। सो जग्गा  हेटौडा उपमहानगरपालिकाले उपलब्ध गराइएको हो ।

महासंघ अध्यक्ष ढकालले निजी क्षेत्रलाई प्राथमिकतामा राखेर जग्गा प्रदान गरेकोमा उपमहानगरपालिकालाई धन्यवाद दिए ।  साथै उनले उक्त भवन निर्माणका लागि व्यक्तिगत रूपमा रु ५ लाख सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । साथै महासंघका बागमती प्रदेश अध्यक्ष दिल सुन्दर श्रेष्ठलाई भवन निर्माण छिटो भन्दा छिटो  सम्पन्न गर्नको लागि आग्रह गरेका छन् ।

बागमती प्रदेश अध्यक्ष दिल सुन्दर श्रेष्ठले जग्गा सहयोग गरेकोमा उपमहानगरपालिकालाई धन्यवाद व्यक्त गर्दै  व्यक्तिगत रुपमा भवन निर्माण गर्न रु ५ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। साथै अध्यक्ष चन्द्र ढकाललाई भवन छिटै बनाउने प्रतिवद्दता जनाएका छन् । उनका अनुसार सो भवन साढे चार तलाको बन्ने छ भने लागत २.५ करोड रहने छ । सुरुवाती चरणमा १ करोड बजेटबाट काम सुरु गरिने उनले बताए।

हाल नेपाल उद्योग वाणिज्य महासंघ वागमती प्रदेशको सचिवालय हेटौंडाको हुप्राचौरमा रहेको छ ।