विषयगत समितिहरुबीच परिचयात्मक कार्यक्रम तथा  उद्योगी व्यवसायीहरुले भोग्नु परिरहेको समस्या सम्बन्धी छलफल कार्यक्रम भव्य रुपमा सम्पन्न (२०८० श्रावण ३२)

विषयगत समितिहरुबीच परिचयात्मक कार्यक्रम तथा  उद्योगी व्यवसायीहरुले भोग्नु परिरहेको समस्या सम्बन्धी छलफल कार्यक्रम भव्य रुपमा सम्पन्न (२०८० श्रावण ३२)
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश अन्तर्गतका सम्पूर्ण विषयगत समितिहरु बीच परिचयात्मक कार्यक्रम र उद्योग व्यवसायीहरुले भोग्नु परिरहेको समस्या सम्बन्धी छलफल कार्यक्रम थाहा नगरपालिका, मकवानपुरमा भव्यतापूर्वक सम्पन्न भएको छ । बागमती प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा विभिन्न १६ वटा विषयगत समितिहरुका संयोजक, उप–संयोजक, सदस्य, आमन्त्रित सदस्य, सल्लाहकारहरुलाई प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरु मार्फत खादा लगाई मनोनयन पत्र प्रदान गरिएको थियो । कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुहुँदै स्वागत मन्तव्य राख्नुभएका अध्यक्ष दिल सुन्दर श्रेष्ठले विषयगत समितिहरुले आगामी दिनहरुमा गर्नुपर्ने कृयाकलापहरुको विषयमा चर्चा गर्नुभएको थियो भने वर्तमान अवस्थामा उद्योगी व्यवसायीहरुले भोग्नु परिरहेको विविध समस्याहरुको विषय उजागर गर्न कार्यक्रमको आयोजना गरिएको बताउनुभएको थियो । सबै प्रदेशका सम्बन्धित विषयगत समितिहरुलाई नेपाल उद्योग वाणिज्य महासंघका तत् तत् समितिहरुमा जोड्न पहल गर्ने बताउनुहुँदै अध्यक्ष श्रेष्ठले निजी क्षेत्रका समस्याहरु सरकारले सम्बोधन गर्न कञ्जुस्याईं गरेको बताउनुभएको थियो । नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण बैद्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उद्योगी व्यवसायीहरुले भोग्नु परिरहेको समस्याहरु जिल्ला नगर उवासंघका अध्यक्षहरुले राख्नु भएको थियो । उद्योगी व्यसायीहरुले खेप्नु परेको समस्याहरु भक्तपुर उवासंघका अध्यक्ष तथा बागमती प्रदेशका कार्यकारिणी सदस्य शिव प्रसाद मानन्धर, सिन्धुली उवासंघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ, पनौती उवासंघका अध्यक्ष भोला थापा, कीर्तिपुर नगर उवासंघका अध्यक्ष तथा बागमती प्रदेशका कार्यकारिणी सदस्य राज्यलक्ष्मी शाक्य, बागमती प्रदेशका कार्यकारिणी सदस्य जीवनकाजी माकजु श्रेष्ठ, रसुवा उवासंघका अध्यक्ष सुकसाङ्ग तामाङ्ग, महालक्ष्मी उवासंघका अध्यक्ष नविन्द्र देव महर्जन, नुवाकोट उवासंघका बरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेती, उवासंघ खैरहनीका अध्यक्ष दिपेन श्रेष्ठ र गोदावरी उवासंघका उपाध्यक्ष कवि बस्नेतले उजागर गर्नुभएको थियो । उद्योगी व्यवसायीहरुले भोगेका समस्याहरुमा बैंकको चर्को व्याज, चालु पूँजी कर्जाका प्रावधानहरु, कच्चा पदार्थमा लगाईएको अन्तः शुल्क, कर समस्या, सहकारी समस्या, बन्द रसुवाका चीन नाकाहरु, न्यूनतम पारिश्रमिक बृद्धि, महिला उद्यमीका समस्याहरुको विषयहरु उठान भएका थिए । समस्याहरु उपर सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण बैद्यले नेउवामहासंघको १०० दिने उपलब्धिहरुको विषयमा जानकारी गराउनुभएको थियो । उद्योगी व्यवसायीहरुको समस्या सम्बोधनका लागि नै धेरै समय खर्च गरेको बताउनुहुँदै प्रमुख अतिथि बैद्यले जिल्ला नगर उवासंघहरुको आत्मनिर्भरताकालागि महासंघले विभिन्न कार्यक्रमहरु ल्याउन लागेको पनि बताउनुभएको थियो । थाहानगरको तरकारी निर्यात र यहाँको पर्यटनले आफूलाई धेरै अघिदेखि छोएको बताउनुहुँदै उपाध्यक्ष बैद्यले छिट्टै नै थाहा नगरपालिकामा पर्यटनको सम्भाव्यता र लगानी विषयक कार्यक्रम आयोजना गर्ने बताउनुभएको थियो ।
कार्यक्रममा नेउवामहासंघका बस्तुगत उपाध्यक्ष हेमराज ढकाल, पूर्व उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठ, केन्द्रीय कार्यकारिणी सदस्य अमरेश चन्द्र बैदार, ताराबहादुर कार्की, थाहा नगर प्रमुख विष्णु बहादुर विष्टलगायतले छलफलमा केन्द्रित रहेर आ–आफ्नो मन्तव्य राख्नुभएको थियो । कार्यक्रमकै अवसरमा नेपाल टेलरिङ्ग व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष सदिश श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष राजमान डंगोललाई बधाई पत्र प्रदान गरिएको थियो ।
नेउवामहासंघ बागमती प्रदेशका उपाध्यक्ष दुर्गाराज श्रेष्ठले कार्यक्रम संचालन गर्नुभएको थियो भने कार्यक्रमको समापन उपाध्यक्ष गुणराज श्रेष्ठले धन्यवादज्ञापन सहित गर्नुभएको थियो । कार्यक्रममा विभिन्न उवासंघका अध्यक्षहरु, बस्तुगत संघसंस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरु, विषयगत समितिका सदस्यहरु, थाहा नगरपालिका उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, थाहा उवासंघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरु, कर्मचारीहरु, संचारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम व्यवस्थापन र न्यानो आतिथ्यताको लागि थाहानगर उवासंघ र थाहा नगरपालिकालाई धन्यवाद पनि व्यक्त गरिएको थियो ।