“कार्यस्थल हिंसा तथा दुर्व्यवहार” विषयक गोष्ठी सम्पन्न (२०७९ कार्तिक २९)

“कार्यस्थल हिंसा तथा दुर्व्यवहार” विषयक गोष्ठी सम्पन्न (२०७९ कार्तिक २९)
नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय श्रम संगठनको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको व्यवस्थापनमा हेटौंडाको अर्कीड रिसोर्टमा “कार्यस्थल हिंसा तथा दुर्व्यवहार” विषयक गोष्ठी सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कार्यकारिणी सदस्य उत्तमशर्मा ढकालको सभापतित्वमा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका सहायक निर्देशक हरी पौडेलले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो भने नेपाल उद्योग वाणिज्य महासंघका कानूनी सल्लाहकार तथा अधिवक्ता दिपक घिमिरेले कार्यस्थलमा हुने हिंसा र दुर्व्यवहारको विषयमा नेपालको कानूनी व्यवस्था, हिंसा र दुर्व्यवहारका प्रकार, यसको रोकथामकालागि गरिनुपर्ने सुझावहरुको विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यस्थलमा विशेष गरी महिला कर्मचारीहरुमाथि हुने शारीरिक, मौखिक र गैरमौखिक हिंसा तथा दुर्व्यवहार, काम गर्न प्रतिकूल वातावरण, यौन हिंसा जस्ता कुराहरुको विषयमा सहभागीहरुबाट छलफलको क्रममा उठेका जिज्ञासाहरुको बारेमा पनि अधिवक्ता घिमिरेले प्रष्ट्याउनु भएको थियो । कार्यक्रमका अतिथि श्रम कार्यालयका प्रमुख छन्द नारायण श्रेष्ठ र मकवापुर उद्योग वाणिज्य संघका उपाध्यक्ष उज्वल चौलागाईले वर्तमान अवस्थामा कार्यस्थलमा हुने हिंसा तथा दुर्व्यवहारलाई सामान्य रुपमा लिन नमिल्ने र यसको लागि कडा कानून निर्माण गर्नुपर्ने विषयमा जोड दिनुभएको थियो । स्वागत तथा समापन मन्तव्य राख्नुहुँदै सभापति ढकालले यस्ता कार्यक्रमहरुको उपयोगिता बढ्दै गईरहेकोले आयोजकलाई धन्यवाद प्रदान गर्नुभएको थियो । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कार्यकारी निर्देशक विवेक मानन्धरले संचालन गर्नुभएको कार्यक्रममा विभिन्न उद्योग, अस्पताल, होटल प्रतिष्ठानका व्यवस्थापक एवम् मानव संशाधन प्रमुखहरुको उपस्थिति रहेको थियो ।