नेउवामहासंघ बागमती प्रदेश र खैरहनी उद्योग वाणिज्य संघबीच महोत्सव आयोजना गर्ने विषयमा छलफल (२०७९ भाद्र २०)

नेउवामहासंघ बागमती प्रदेश र खैरहनी उद्योग वाणिज्य संघबीच महोत्सव आयोजना गर्ने विषयमा छलफल (२०७९ भाद्र २०)
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश र खैरहनी उद्योग वाणिज्य संघबीच महोत्सव गर्ने विषयमा छलफल भएको छ । खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन श्रेष्ठको अध्यक्षतामा बसेको छलफल कार्यक्रममा प्रादेशिक रुपमा पहिलो पल्ट नेउवामहासंघ बागमती प्रदेशले महोत्सव आयोजना गर्ने कार्यक्रम राखेकोमा खैरहनी उद्योग वाणिज्य संघसंग संयुक्त रुपमा मिलेर आयोजना गर्ने विषयमा छलफल केन्द्रीत रहेको थियो । खैरहनी उद्योग वाणिज्य संघको कार्यसमिति एवम् नेउवामहासंघ बागमती प्रदेशका पदाधिकारीहरुबीच भएको छलफलले आगामी पौष २८ गतेदेखि माघ ८ गतेसम्म खैरहनीमा बागमती प्रादेशिक एवम् दोश्रो खैरहनी महोत्सव २०७९ संयुक्त रुपमा आयोजना गर्ने निर्णय गरेको छ । नेउवामहासंघ बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठको संयोजकत्व एवम् खैरहनी उवासंघका अध्यक्ष दिपेन श्रेष्ठ सह–संयोजक रहने गरी मूल आयोजक समिति गठन गर्ने, नेउवामहासंघ बागमती प्रदेशका कोषाध्यक्ष एवम् मेला समितिका संयोजक गुणराज श्रेष्ठको संयोजकत्व एवम् खैरहनी उवासंघका कासस एवम् मेला समितिका संयोजक लक्ष्मण निरौला सह–संयोजक रहने गरी मेला कार्य सम्पादन समिति पनि गठन गर्ने निर्णय गरिएको छ । लघु घरेलु तथा साना उद्योगदेखि राष्ट्रिय, बहुराष्ट्रिय उद्योगका उत्पादनहरु, कृषि, सूचना प्रविधि, शैक्षिक, अटो, हस्तकलालगायत उद्योग व्यापारसंग सम्बन्धित स्टलहरु ३५० वटा रहने गरी महोत्सवको तयारी गरिएको छ । खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन श्रेष्ठले नेउवामहासंघ बागमती प्रदेशको टोलीलाई मेलास्थलको अवलोकन गराएका थिए । नेउवामहासंघ बागमती प्रदेशबाट अध्यक्ष दिलसुन्दर श्रेष्ठ, उपाध्यक्षद्वय सविन श्रेष्ठ, दुर्गाराज श्रेष्ठ, कोषाध्यक्ष गुणराज श्रेष्ठ, कार्यकारिणी सदस्य कविराज खत्री, कार्यकारी निर्देशक विवेक मानन्धर र सिन्धुली उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष अमरेश चन्द्र बैदारको उपस्थिति रहेको थियो भने खैरहनी उद्योग वाणिज्य संघबाट पदाधिकारी एवम् कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो । मेलाको तयारी दु्रत गतिमा अघि बढाईने गरी आवश्यक कार्य अघि बढाईने भएको छ ।