बाढीपीडित उद्योगी व्यवसायीलाई पुरानै स्थितिमा फर्काउने वातावरण तयार गर्न आग्रह । – नेउवामहासंघ बागमती प्रदेश (२०८३।०६।१२)

बाढीपीडित उद्योगी व्यवसायीलाई पुरानै स्थितिमा फर्काउने वातावरण तयार गर्न आग्रह । – नेउवामहासंघ बागमती प्रदेश (२०८३।०६।१२)
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका जिल्ला नगर उपाध्यक्ष कृष्ण कुमार गुप्ताज्यूले भोटेकाशी बाढीबाट पीडित उद्योगी व्यवसायीहरुलाई पुरानै स्थितिमा फर्काउने वातावरण तयार गर्न बागमती प्रदेश सरकारका मुख्यमन्त्रीज्यूको ध्यानाकर्षण गराउनु भएको छ ।

मकवानपुर उवासंघको आयोजनामा भएको बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री एवम् मन्त्रीज्यूहरुको स्वागत तथा सम्मान कार्यक्रममा नेउवामहासंघ बागमती प्रदेशको तर्फबाट आफ्नो मन्तव्य राख्नुहुँदै उहाँले पीडितलाई राहत मात्र दिएर नपुग्ने बरु प्रभावित परिवारको पुन स्थापना, उद्योग व्यवसायको पुनः संचालन र प्रभावित क्षेत्रको आर्थिक गतिविधि सामान्य अवस्थामा फर्काउन जरुरी रहेको बताउनुभयो । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिं रानाभाटज्यूको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश उपाध्यक्षज्यूले चीनसंग जोडिएका तातोपानी, रसुवा र कोरला नाकाहरु यथाशीघ्र संचालनकालागि कुटनीतिक पहल गरिदिन पनि आग्रह गर्नुभयो । निजी क्षेत्र सरकारसंग प्रतिस्पर्धा होईन, सहकार्य गर्न चाहने बताउनुहुँदै उहाँले उद्योग स्थापना गर्न, व्यवसाय संचालन गर्न, सहज ढंगमा आयात निर्यात गर्न, लगानीकर्ताको लगानी सुरक्षित गराउन, युवाले देशमै रोजगारी तथा उद्यमको अवसर पाउने वातावरण पाओस् भन्ने अपेक्षा रहेको बताउनुभयो । सम्पूर्ण मुख्यमन्त्री एवम् मन्त्रीज्यूहलाई बधाई प्रकट गर्नुहुँदै उहाँले सबैलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । 

मकवानपुर उद्योग वाणिज्य संघका महासचिव प्रतिमा श्रेष्ठज्यूले संचालन गर्नुभएको कार्यक्रममा अध्यक्ष प्रमोद सिं रानाभाटज्यूले स्वागत मन्तव्य, पूर्वअध्यक्ष अरुणराज सुमार्गीज्यू, नेउवामहासंघका केन्द्रीय सदस्य एवम् रत्ननगर उवासंघका अध्यक्ष शंकर गिरीज्यूले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

प्रमुख अतिथि बागमती प्रदेश सरकारका मुख्यमन्त्री माननीय किरण थापामगरज्यूले बाढीपीडितहरुको पुनस्र्थापनाको लागि प्रदेश सरकार निरन्तर लागिरहेको र यसमा निजी क्षेत्रको साथको लागि धन्यवाद व्यक्त गर्नुभयो । उहाँले उद्योगको संरक्षण, लगानी सुरक्षा र समस्याग्रस्त उद्योगको पुनः संचालनकालागि प्रदेश सरकार निजी क्षेत्रसंग समन्वय र सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो । करको दर भन्दा दायरा बृद्धि गर्ने, स्थापित उद्योगहरुलाई विभिन्न स्वार्थका कारण अवरोध पुर्याउने प्रवृत्तिलाई बन्द गरिनुपर्ने, उद्योगी व्यवसायीका समस्या समाधानमा निजी क्षेत्रसंग समन्वय र सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुहुँदै उहाँले बाढीपीडितहरुको पुनस्र्थापनामा निजी क्षेत्रलाई सरकारसंगको होस्टेमा हैंसे मिलाउन पनि आग्रह गर्नुभयो ।
मकवानपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दिपक उप्रेतीले समापन मन्तव्य राख्नुभएको कार्यक्रममा संघले मुख्यमन्त्रीसहित बागमती प्रदेश सरकारका मन्त्रीज्यूहरुलाई स्वागत तथा बधाई पत्रले सम्मान गरेको थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कार्यकारिणी सदस्य उत्तमशर्मा ढकाल, आमन्त्रित सदस्य चिरञ्जिवी सुवेदी, सीतादेवी भेटवाल र कार्यकारी निर्देशक विवेक मानन्धरज्यूको पनि उपस्थिति रहेको थियो ।
Releated Attachment : 1790667759_mcci chief minister welcome speech.jpeg