स्वरोजगार व्यवसाय कर्जा ब्याज अनुदान कार्यविधि २०८३ उपर छलफल कार्यक्रम सम्पन्न । २०८३।०४।२६

स्वरोजगार व्यवसाय कर्जा ब्याज अनुदान कार्यविधि २०८३ उपर छलफल कार्यक्रम सम्पन्न । २०८३।०४।२६
स्वरोजगार व्यवसाय कर्जा ब्याज अनुदान कार्यविधि २०८३ उपर छलफल कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय बागमती प्रदेशको आयोजनामा भएको छलफल कार्यक्रममा स्वरोजगार व्यवसाय कर्जा ब्याज अनुदान कार्यविधि उपर बागमती प्रदेशका निजी क्षेत्र, कृषक, वित्तिय संस्थाहरुलगायतका सरोकारवालाहरुबीच छलफल एवम् अन्तरक्रिया गरिएको थियो । आर्थिक मामिला तथा योजना मन्त्री माननीय प्रभात तामाङ्गज्यूको सभाध्यक्षता, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष वेद बहादुर श्रेष्ठज्यू र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य शंकर गिरीज्यूको आतिथ्यतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी, कार्यकारिणी सदस्यहरु, विभिन्न जिल्ला एवम् नगर उद्योग वाणिज्य संघका अध्यक्ष, पदाधिकारी, कार्यसमिति सदस्यहरु, विभिन्न बस्तुगत संघसंस्थाका अध्यक्ष, पदाधिकारी, कार्यसमिति सदस्यहरु, विभिन्न बैंक तथा वित्तिय संस्थाका प्रमुख एवम् प्रतिनिधिहरु, कृषक प्रतिनिधिहरु, संचारकर्मीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । 
कृषि व्यवसाय, उद्योग व्यवसाय, पर्यटन व्यवसाय, वन तथा वातावरणजन्य उद्योग, महिला उद्यमशीलता, दलित समुदाय उद्यमशीलता, स्टार्ट अप उद्यम क्षेत्रसंग सम्बन्धित उद्योग व्यवसायलाई प्रदान गरिने कर्जाहरुमा स्वरोजगार व्यवसाय कर्जा अनुसार ब्याज अनुदान दिने कार्यविधिको विषयमा छलफल केन्द्रित रहेको् थियो । छलफलमा सहभागीहरुले कर्जाको सीमा बढाउनुपर्ने, कार्यान्वयन तथा अनुगमन समितिमा निजी क्षेत्रको पनि प्रतिनिधित्व हुनुपर्ने, आवेदनहरु अनलाईन मार्फत लिने व्यवस्था मिलाउनुपर्ने, परियोजनाको प्रकृति अनुसार ब्याज अनुदान मोडल अपनाउनु पर्ने, परियोजना धितो राखी कर्जा लिन पाउनुपर्ने, महिला, युवा, दलित संगसंगै वैदेशिक रोजगारीबाट फर्केका र अपाङ्गहरुको लागि पनि विशेष व्यवस्था हुनुपर्ने, हरित उद्योगहरुलाई प्राथमिकता प्रदान गर्नुपर्ने, वार्षिक मूल्यांकन हुनुपर्ने, विगतमा अनुदान पाएकाहरुले पनि कर्जा लिन पाउनुपर्ने लगायतका सुझावहरु पेश गर्नुभएको थियो ।
आर्थिक मामिला तथा योजना मन्त्रालय बागमती प्रदेशका अधिकृत दिनेश पौडेलज्यूले संचालन गर्नुभएको छलफल कार्यक्रममा अन्तरक्रिया अघि स्वरोजगार व्यवसाय कर्जा ब्याज अनुदान कार्यविधि विषयमा प्रस्तुतिकरण पेश गरिएको थियो । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष वेद बहादुर श्रेष्ठ र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य शंकर गिरीज्यूले मन्तव्यको क्रममा सहभागीहरुबाट उठेका सुझावहरु मनन् गरी कार्यविधिलाई पूर्णता प्रदान गर्न आग्रह गर्नुभएको थियो । आर्थिक मामिला तथा योजना मन्त्रालय बागमती प्रदेशका सचिव नारायण प्रसाद मैनालीज्यूले सहभागीहरुबाट उठेका जिज्ञासाहरु प्रष्ट्याउनु भएको थियो भने सभाध्यक्ष माननीय प्रभात तामाङ्गज्यूले सहभागीहरुबाट प्राप्त सुझावहरुलाई सकारात्मक रुपमा लिएको र कार्यविधिमा सम्भव भएसम्म सबै सुझावहरु समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 
छलफल कार्यक्रममा निजी क्षेत्रका सहभागीहरुको उपस्थितिको लागि नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशले सहजीकरण गरेको थियो भने छलफल कार्यक्रममा ५० जना भन्दा बढीको सहभागिता रहेको थियो ।     
Releated Attachment : 1786467741_arthik mamila xalfal.jpeg