वितरण क्षेत्रको आधुनिकीकरण, निजी क्षेत्रको विश्वास अभिवृद्धि र सरकार–निजी क्षेत्र सहकार्य सुदृढ गर्न अध्यक्ष श्रेष्ठको आग्रह । २०८३।०४।२२

वितरण क्षेत्रको आधुनिकीकरण, निजी क्षेत्रको विश्वास अभिवृद्धि र सरकार–निजी क्षेत्र सहकार्य सुदृढ गर्न अध्यक्ष श्रेष्ठको आग्रह । २०८३।०४।२२
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष श्री वेद बहादुर श्रेष्ठ ले वितरण क्षेत्रलाई नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा स्थापित गर्दै यसको आधुनिकीकरण, निजी क्षेत्रको विश्वास अभिवृद्धि तथा सरकार–निजी क्षेत्रबीचको सहकार्यलाई थप सुदृढ बनाउन बागमती प्रदेश सरकारसँग आग्रह गर्नुभएको छ ।
नेपाल वितरक संघको २५औँ वार्षिक साधारणसभा तथा रजत जयन्ती समारोह मा विशेष अतिथिका रूपमा मन्तव्य व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले बजारमा पर्याप्त तरलता हुँदाहुँदै पनि निजी क्षेत्रको लगानी अपेक्षित रूपमा बढ्न नसकेको, उद्योग, व्यापार तथा वितरण क्षेत्रमा आर्थिक गतिविधि सुस्त रहेको र उपभोक्ताको क्रयशक्ति कमजोर बन्दै गएको उल्लेख गर्नुभयो। यस्तो अवस्थामा निजी क्षेत्रको आत्मविश्वास बढाउने गरी नीतिगत सुधार र व्यवसायमैत्री वातावरण निर्माण गर्न सरकारको विशेष ध्यान आवश्यक रहेको उहाँको भनाइ थियो ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री समक्ष अध्यक्ष श्रेष्ठले वितरण क्षेत्रलाई आधुनिक, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउन स्पष्ट नीति तथा कार्यक्रम ल्याउन आग्रह गर्नुभयो। साथै स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, प्रदेशभित्र उत्पादित वस्तुको ब्रान्डिङ र बजारीकरणलाई प्रोत्साहन गर्ने तथा उद्योग, व्यापार र पर्यटन क्षेत्रलाई एकीकृत रूपमा अघि बढाउने योजनामा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले व्यवसाय सञ्चालनका क्रममा देखिएका अनावश्यक प्रशासनिक झन्झट, दोहोरो निरीक्षण तथा जटिल अनुमति प्रक्रियालाई सरलीकरण गरी सम्पूर्ण सेवा प्रणालीलाई डिजिटल बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो। सरकार र निजी क्षेत्रबीच नियमित Public Private Dialogue को संस्थागत व्यवस्था गरी नीति निर्माणदेखि कार्यान्वयनसम्म निजी क्षेत्रको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
अध्यक्ष श्रेष्ठले वितरण व्यवसायलाई डिजिटल प्रविधिसँग जोड्दै ई–कमर्स, डिजिटल भुक्तानी प्रणाली, आधुनिक गोदाम व्यवस्थापन, कोल्ड चेन तथा सप्लाई चेन पूर्वाधार विकासका लागि प्रदेश सरकारले विशेष सहुलियत र प्रोत्साहन कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो। साथै उद्योग, पर्यटन, श्रम तथा यातायात क्षेत्रसँग सम्बन्धित दक्ष जनशक्ति उत्पादन, सीप विकास तथा रोजगारी सिर्जनाका कार्यक्रमहरू निजी क्षेत्रसँगको साझेदारीमा सञ्चालन गर्न आग्रह गर्नुभयो ।
बागमती प्रदेश नेपालको आर्थिक केन्द्र भएकाले यहाँ उद्योग, व्यापार, पर्यटन र वितरण प्रणालीलाई सुदृढ बनाउन सकिए त्यसको सकारात्मक प्रभाव राष्ट्रिय अर्थतन्त्रमा पर्ने उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले निजी क्षेत्र सरकारको प्रतिस्पर्धी नभई विकासको विश्वसनीय साझेदार भएको धारणा व्यक्त गर्नुभयो। उहाँले नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश प्रदेश सरकारसँग सहकार्य गर्दै लगानी विस्तार, उद्यमशीलता विकास, रोजगारी सिर्जना तथा आर्थिक समृद्धिका लागि निरन्तर सहयोग गर्न प्रतिबद्ध रहेको समेत बताउनुभयो ।
कार्यक्रममा अध्यक्ष श्रेष्ठले नेपाल वितरक संघको २५ वर्षे सफल यात्रा को प्रशंसा गर्दै वितरण व्यवसायीहरूको हकहित संरक्षण, उपभोक्तासम्म वस्तु तथा सेवाको सहज पहुँच विस्तार तथा मुलुकको आर्थिक विकासमा संघले पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्नुभयो। उहाँले नेपाल वितरक संघलाई रजत जयन्तीको अवसरमा हार्दिक बधाई तथा आगामी दिनमा अझ प्रभावकारी र सशक्त संस्थाका रूपमा अघि बढ्न शुभकामना व्यक्त गर्नुभयो ।
नेपाल वितरक संघका अध्यक्ष प्रेमहरि मैनालीको अध्यक्षतामा भएको २५ औं वार्षिक साधारण सभा तथा रजत जयन्ती समारोहमा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका पदाधिकारी एवम् कार्यकारिणी सदस्यहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
Releated Attachment : 1786107189_bitarak sangh agm.jpeg