तराई क्षेत्रमा भइरहेका घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको गम्भीर ध्यानाकर्षण ! २०८३ श्रावण १४

तराई क्षेत्रमा भइरहेका घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको गम्भीर ध्यानाकर्षण ! २०८३ श्रावण १४ प्रेस विज्ञप्ति
तराई क्षेत्रमा भइरहेका घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको गम्भीर ध्यानाकर्षण
तराई–मधेशका विभिन्न जिल्लाहरूमा हालै देखिएका तनावपूर्ण अवस्था, हिंसात्मक गतिविधि तथा जनधनमा क्षति पुग्ने घटना प्रति नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको गम्भीर ध्यानाकर्षण भएको छ । सो घटनामा परि ज्यान गुमाउनेहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाईते हुनुभएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।
सदियौंदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक एकताको अनुपम उदाहरण रहँदै आएको हाम्रो मुलुकमा शान्ति, सामाजिक सद्भाव, कानुनी शासन तथा सुरक्षित व्यावसायिक वातावरण नै आर्थिक समृद्धि, लगानी प्रवद्र्धन र रोजगारी सिर्जनाको आधार हो । कुनै पनि प्रकारको हिंसा, तोडफोड, आगजनी, सार्वजनिक तथा निजी सम्पत्तिमा हुने क्षति, उद्योग–व्यवसायमा अवरोध तथा नागरिकमा त्रास सिर्जना गर्ने गतिविधिले समग्र अर्थतन्त्र, पर्यटन, व्यापार, उद्योग, आपूर्ति प्रणाली तथा लगानीको वातावरणमा नकारात्मक असर पार्ने भएकाले यस्ता घटना प्रति नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश गहिरो चिन्ता व्यक्त गर्दछ ।
यस विषम परिस्थितिमा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश सम्बन्धित सबै पक्षलाई संयमता अपनाउन, सामाजिक सद्भाव कायम राख्न, संवाद र सहमतिका माध्यमबाट समस्याको समाधान खोज्न तथा कुनै पनि प्रकारका उत्तेजनात्मक गतिविधिबाट टाढा रहन सबैमा हार्दिक आग्रह गर्दछ ।
साथै, नेपाल सरकार, सम्बन्धित सुरक्षा निकाय तथा स्थानीय प्रशासनसँग प्रभावित क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउँदै नागरिक तथा उद्योगी–व्यवसायीको जीवन, सम्पत्ति र लगानीको सुरक्षा सुनिश्चित गर्न, दोषीमाथि कानून बमोजिम निष्पक्ष कारबाही गर्न तथा परिस्थितिलाई यथाशीघ्र सामान्य अवस्थामा फर्काउन आवश्यक र प्रभावकारी कदम चाल्न जोडदार अनुरोध गर्दछ ।
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश सदैव राष्ट्रिय एकता, सामाजिक सद्भाव, लोकतान्त्रिक मूल्य–मान्यता, विधिको शासन तथा आर्थिक समृद्धिको पक्षमा दृढ रहेको पुनः प्रतिबद्धता व्यक्त गर्दछ । सम्पूर्ण नेपाली नागरिकलाई शान्ति, संयम र पारस्परिक सम्मान कायम राखी समृद्ध नेपालको निर्माणमा एकजुट हुन हार्दिक आह्वान गर्दछ ।
२०८३ श्रावण १४
...............................
वेद बहादुर श्रेष्ठ, अध्यक्ष
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश 
  Releated Attachment : 1785498646_press release fncci bagmati.jpg