स्टार्ट अप व्यवसायीहरु पुरस्कृत । २०८३।०३।०५

स्टार्ट अप व्यवसायीहरु पुरस्कृत । २०८३।०३।०५
राष्ट्रिय युवा परिषद्को आयोजनामा भएको बागमती प्रदेशस्तरीय युवाहरुबाट उत्पादित सूचना प्रविधि तथा स्टार्ट अप व्यवसाय प्रदर्शनी २०८३ मा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशले मूल्यांकनकर्ताको जिम्मेवारी निर्वाह गरेको छ । हेटौंडामा आयोजित १ दिवसीय प्रदर्शनीमा बागमती प्रदेशभरिका १५ जना स्टार्ट अप व्यवसायीहरुले भाग लिएका थिए । आईटी र नवप्रवर्तन उद्योगहरु सम्मिलित व्यवसायीहरु सम्मिलित प्रदर्शनीमा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको तर्फबाट कार्यकारी निर्देशक विवेक मानन्धरज्यूले मूल्यांकनकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो । सूचना प्रविधि तथा स्टार्ट अप व्यवसाय प्रदर्शनी २०८२ को कार्यविधिको मातहतमा रही ५ जनाको मूल्यांकन समितिले उत्कृष्ट ५ जना व्यवसायीहरुको छनौट गरेको थियो । मूल्यांकन समितिमा तारापति खरेल, देवराज कपाडी, विवेक मानन्धर, सुजन सुवेदी र मान बहादुर कार्की रहनुभएको थियो भने प्रदर्शनीमा प्रथम हुनेले पुरस्कार राशि स्वरुप ४० हजार, दोश्रो हुनेले ३० हजार, तेश्रो हुनेले २० हजार र सान्त्वना दुई व्यवसायले १०।१० हजार नगद र प्रमाणपत्र प्राप्त गरेका थिए । प्रदर्शनीमा मकवानपुरका मिठास एग्रो फार्म प्रथम, काठमाडौंका ड्रोन हब नेपाल दोश्रो, मकवानपुरका तिमल्सिना हाते कागज उद्योग तेश्रो र काठमाडौंका मिराज बेकरी र ई–कागजपत्रले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । सहभागी सबै स्टार्ट अप व्यवसायीहरुलाई व्यवस्थापन खर्च बापत रु. १० हजार नगद पनि प्रदान गरिएको थियो । प्रदर्शनी राष्ट्रिय युवा परिषद्का उपसचिव तारापति खरेलज्यूको सभाध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाज्यूको प्रमुख आतिथ्यतामा आयोजना गरिएको थियो भने मकवानपुर उद्योग वाणिज्य संघले समन्वयकर्ताको भूमिका निर्वाह गरेको थियो । 

Recent Press Releases