बागमती प्रदेशस्तरीय महिला उद्यमी सम्मेलन २०८० भव्यतापूर्वक सम्पन्न ।

बागमती प्रदेशस्तरीय महिला उद्यमी सम्मेलन २०८० भव्यतापूर्वक सम्पन्न ।

नेपाल सरकार बागमती प्रदेश उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय अन्तर्गत उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको वार्षिक कार्यक्रम बमोजिम नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको संयोजनमा बागमती प्रदेशस्तरीय महिला उद्यमी सम्मेलन २०८० भव्य रुपमा हेटौंडामा सम्पन्न भएको छ । नेपाल सरकार बागमती प्रदेश उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयका सचिव राजेन्द्र कुमार के.सी.ज्यूको सभाध्यक्षता, नेपाल सरकार बागमती प्रदेश सामाजिक विकास मन्त्री माननीय कुमारी मोक्तानज्यूको प्रमुख आतिथ्यता, हेटौंडा उपमहागनरपालिकाका प्रमुख मिनाकुमारी लामा र नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठज्यूको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश महिला उद्यमी विकास समितिका सभापति गीता अमात्यज्यूले बागमती प्रदेशका १३ वटै जिल्लाका महिला उद्यमीहरुलाई एकैथलोमा उपस्थित गराई सबै जिल्लाका उत्पादन, सो को बजारीकरण, स्थानीय र प्रदेश सरकारसंगको सहकार्य र स्थानीय बजारलगायत देश विदेशसम्म आफ्नो उत्पादित बस्तुको जानकारी एवम् प्रचार प्रसार र स्थानीय श्रोत र साधनको उच्चतम प्रयोग गरी महिलालाई आर्थिक सशक्तिकरण तर्फ अघि बढाउन, महिला दिदीबहिनीहरुलाई प्रोत्साहन गर्ने र महिला दिदीबहिनीहरुले उद्योग व्यवसाय शुरुवात र संचालन गर्दा भोग्नु परेका समस्याहरुको विषयमा बृहत छलफल गरी उक्त समस्याहरुको समाधानकालागि स्थानीय, प्रदेश र केन्द्र सरकारसम्म बुलन्द आवाज पु¥याउने उद्देश्यका साथ यो सम्मेलनको आयोजना गरिएको बताउनुहुँदै आगामी वर्षको बजेटमा महिला उद्यमीहरुको सशक्तिकरणमा विशेष जोड दिन आग्रह गर्नुभएको थियो ।
प्रमुख अतिथि माननीय कुमारी मोक्तानज्यूले अझै पनि पुरुषको तुलनामा महिलाहरुलाई उद्यमी बन्न सजिलो नभएको बताउनुभयो । घर व्यवहार पनि संगसंगै लैजाँदै उद्यमशिलता तर्फ अघि बढ्नु महिला दिदीबहिनीहरुले निकै नै चुनौती भोग्नुपर्ने बताउनुभयो । महिलालाई हरेक ठाउँमा सफल हुन दवाब रहेको बताउनुहुँदै उहाँले महिला उद्यमीहरुको सशक्तिकरणकालागि मन्त्रालयले हर सम्भव सहयोग गर्ने बताउनुभयो । स्थानीय कच्चा पदार्थहरुको समुचित प्रयोग, उद्यमशिलताको प्रवद्र्धन र बजारीकरणमा बढी जोड दिनुपर्नेमा विशेष जोड दिनुहुँदै प्रमुख अतिथि माननीय कुमारी मोक्तानज्यूले घरघरका गृहिणीहरुलाई पनि अब सीप सिकाई दक्ष बनाई उद्यमी बन्न प्रेरित गर्ने, बीउ पूँजी उपलब्ध गराउने, उद्यम दर्ता गर्न सहजीकरण गर्नेसम्मको ५ वर्षे कार्यक्रम बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको रहेको र यो कार्यक्रमले बागमती प्रदेशका गृहिणी महिलाहरुलाई उद्यमी बनाउन सहयोग पुग्ने विश्वास लिएको पनि बताउनुभएको थियो । 
हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाज्यूले महिलाहरुलाई अनिवार्य रुपमा उद्यमशिलता तर्फ अघि बढाउनुपर्ने, महिलाहरुबाट उत्पादित बस्तु तथा सेवाहरुको ब्राण्डिङ्गमा विशेष ध्यान दिनुपर्ने र सीप सिकेका महिला दिदीबहिनीहरुलाई प्रोत्साहन गर्नुपर्ने वातावरण तयार गर्नुपर्नेमा विशेष जोड दिनुभएको थियो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय कार्यकारिणी सदस्य तथा महिला उद्यमी विकास समितिका सभापति कमला श्रेष्ठज्यूले महिला दिदीबहिनीहरुले उद्यमशिलतातर्फ अघि बढ्दा कमजोर नबनी आईपर्ने समस्याहरुलाई चिरेर सफल बन्न उद्यमी महिला दिदीबहिनीहरुलाई उत्प्रेरित गर्नुभयो । साथै महिला उद्यमीहरुको चुनौती तथा समस्याहरुलाई बुझिदिन सम्बन्धित मन्त्रालयहरुलाई आग्रह पनि गर्नुभयो ।
त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठज्यूले महिला दिदीबहिनीहरुले उत्पादन गरेका सामग्रीहरुलाई निर्यातयोग्य बनाउन सके अझ आयआर्जन बढ्ने र थप रोजगारी श्रृजना हुने बताउनुभयो । साथै उत्पादित सामग्रीहरुको बजारीकरणमा सरकारको तर्फबाट पनि सहयोग हुनुपर्ने र नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको सदैव महिला उद्यमीहरुको उद्यमशिलता एवम् समग्र वृत्ति विकासमा सहयोग गरिरहने बताउनुभयो । 
सभाध्यक्ष उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयका सचिव श्री राजेन्द्र कुमार के.सी.ज्यूले उद्योग मन्त्रालय अन्तर्गत उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको वार्षिक कार्यक्रम अनुसार बागमती प्रदेशस्तरीय महिला उद्यमी सम्मेलनको संयोजन नेउवामहासंघ बागमती प्रदेश महिला उद्यमी विकास समिति परिवारलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । महिला उद्यमीहरुले यस्ता कार्यक्रममा सहभागी हुँदा आफूमा मात्र सीमित नराखी सबै महिला उद्यमीहरुबीच नेटवर्किङ्ग गरेर अघि बढ्नुपर्ने बताउनुहुँदै उहाँले आगामी वर्ष पनि यस्तै सम्मेलनको फरक ढंगबाट आयोजना गरिने बताउनुभयो । महिलालाई स्वावलम्बी र स्वरोजगार बनाउने लक्ष्यले नै मन्त्रालयले कार्यक्रम बनाउने भएकोले महिला उद्यमीहरुले नै मन्त्रालयलाई सुझाव दिनु हुन अनुरोध पनि गर्नुभयो ।

समितिले बागमती प्रदेशका १३ वटै जिल्लाका महिला उद्यमीहरु समेटी बामगती प्रदेशस्तरीय महिला उद्यमी सम्मेलन आयोजना गरेको छ । बागमती प्रदेशका १३ वटै जिल्लाका गरी १५० जना महिला दिदीबहिनीहरुलाई समेटी प्रादेशिक राजधानी हेटौंडाको होटल एभोकाडो एण्ड अर्किड रिजोटमा चैत्र १८ र १९ गते भव्यतापूर्वक आयोजना गरिएको हो । सम्मेलनमा १३ वटै जिल्लाका २८ वटा उद्योग वाणिज्य संघहरु, उद्योग वाणिज्य कार्यालयहरु, नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेश, बागमती प्रदेश सहकारी संघ लि. जस्ता संस्थाहरुसंग आवश्यक समन्वय गरी उद्यमी महिला दिदीबहिनीहरुलाई सहभागी गराईएको थियो । सम्मेलनमा १३ वटै जिल्लाका उद्यमी महिला दिदीबहिनीहरुबाट उत्पादित सामग्रीहरुको प्रदर्शनीको लागि स्टलहरु निर्माण गरी प्रदर्शनी तथा विक्रि वितरण पनि गरिएको थियो ।
२ दिने उक्त सम्मेलनको पहिलो दिनको समुद्घाटन पश्चात विभिन्न तालुकात निकाय तथा विषयहरुमाथि प्रस्तुतिकरण तथा उठेका प्रश्नहरुको सवाल जवाफ कार्यक्रम आयोजना गरिएको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय कार्यकारिणी सदस्य तथा स्टार्ट अप एण्ड ईनोभेसन फोरमका सभापति जुना माथेमाज्यूले स्टार्ट अप, इनोभेसन र ईन्क्युबेसनको विषयमा प्रस्तुतिकरण पेश गर्नुभएको थियो भने उठेका प्रश्नहरुको जवाफ पनि दिनुभएको थियो । उद्यमी बन्न चाहने महिला दिदीबहिनीहरुले कुनै पनि व्यवसाय शुरु गर्नुअघि अपनाउनु पर्ने कुराहरुको विषयमा प्रस्तुतिकरण केन्द्रीत रहेको थियो । त्यसैगरी उद्योग वाणिज्य कार्यालय मकवानपुरका प्रमुख अमृत श्रेष्ठज्यूले नेपाल सरकारले महिला दिदीबहिनीहरुले उद्यम संचालन गर्दा प्रदान गरेका छुट, नीति, नियम आदिका विषयमा प्रस्तुतिकरण पेश गर्नुभएको थियो भने सहभागीहरुले राख्नुभएको जिज्ञासाको जवाफ पनि दिनुभएको थियो ।
सामाजिक विकास मन्त्रालय बागमती प्रदेशका महिला विकास अधिकृत चन्द्राकुमारी व्यञ्जनकारज्यूले बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको परिचय र मन्त्रालयले महिलाहरुको सशक्तिकरणका लागि गरेका प्रयासहरुको विषयमा प्रस्तुतिकरण पेश गर्नुभएको थियो । सहभागीहरुबाट प्राप्त जिज्ञासाहरुको जवाफ दिंदै उहाँले महिलाको उद्यमशिलताको विकासको लागि आगामी वर्षको बजेटमा यथासक्य प्रयास रहने पनि बताउनुभएको थियो ।
त्यसैगरी दोश्रो दिनको प्रस्तुतिकरण पेश गर्ने क्रममा आन्तरिक राजश्व कार्यालय मकवानपुरका कर अधिकृत प्रेम तिम्सिनाज्यूले महिला उद्यमीहरुसंग सम्बन्धित करका प्रावधानहरुको विषयमा प्रस्तुतिकरण पेश गर्नुभएको थियो । कर सम्बन्धी बाधा व्यवधानहरुको विषयमा सहभागीहरुबाट उठेका प्रश्नहरुको जवाफ कर अधिकृत तिम्सिनाले दिनुभएको थियो ।
त्यसैगरी बैंक तथा वित्तिय संस्थाहरुको तर्फबाट कृषि विकास बैंक लि. हेटौंडाका ऋण अधिकृत प्रकाश ढुंगानाज्यूले महिला उद्यमशीलता सम्बन्धी कर्जाका प्रावधानहरु, सोको लागि गर्नुपर्ने कार्यहरुको विषयमा प्रस्तुतिकरण पेश गर्नुभएको थियो । महिला उद्यमीहरुले कर्जा लिंदाका बखत भोग्नु परेका समस्याहरुको विषयमा सहभागीहरुबाट उठेका प्रश्नहरुको जवाफ पनि उहाँले दिनुभएको थियो ।
त्यसैगरी महिला जनस्वास्थ्य सम्बन्धी प्रस्तुतिकरणको लागि नेपाल अर्बुद रोग निवारण केन्द्र मकवानपुरका निवर्तमान अध्यक्ष कपिला जोशीज्यूले आफ्नो प्रस्तुतिकरण पेश गर्नुभएको थियो । विशेष गरी महिलाहरुमा हुने स्तन क्यान्सर र पाठेघरको क्यान्सरमा आधारित भएर प्रस्तुतिकरण पेश गर्नुभएका जोशीज्यूले यसको जाँच गर्ने तरिका, यसको रोकथाम, समयमै गर्नुपर्ने उपचार लगायतका विषयहरुमा महिला दिदीबहिनीहरुबाट उठेका जिज्ञासाहरुलाई शान्त पार्नुभएको थियो ।
त्यसैगरी मकवानपुरको दृश्या एण्ड आभ्या हस्तकला, गार्मेन्ट ढाका उद्योगका प्रोप्राईटर गीता मैनालीज्यूले आफ्नो अथक मेहनतपश्चात प्राप्त सफलताको विषयमा प्रस्तुतिकरण पेश गर्नुभएको थियो । आफ्नो जीवनमा उद्यमी बन्न गर्नुपरेका संघर्षका कथाहरुको विषयमा प्रस्तुतिकरण पेश गर्नुहुँदै उहाँले सफल उद्यमीको रुपमा आफूलाई उभ्याउन पाउँदा खुशी लागेको र आगामी दिनहरुमा पनि सबै महिलाहरु सफल भएको हेर्न चाहेको बताउनुभएको थियो ।
सम्मेलनकै अवसरमा नेपाल सरकार बागमती प्रदेश सामाजिक विकास मन्त्रालयबाट बागमती प्रदेशभरिका उत्कृष्ट महिला दिदीबहिनीहरुलाई पुरस्कृत गरेकोमा सम्मेलनमा सहभागी हुन आउनुभएका तिनै उत्कृष्ट महिला दिदीबहिनीहरुलाई खादा र टिका लगाई सम्मान गरिएको थियो ।
त्यसैगरी सम्मेलनमा आउनुभएका प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि, प्रस्तुतिकरण पेश गर्नुहुने विभिन्न मन्त्रालय, कार्यालय, संघसंस्थाका महानुभावहरुलाई मायाको चिनो हस्तान्तरण गरिएको थियो ।
१३ जिल्लाका महिला उद्यमी दिदीबहिनीहरुले स्थानीय कच्चा पदार्थको प्रयोग गरि बनाईएका सामग्रीहरुलाई नै मायाको चिनो स्वरुप सबैलाई प्रदान गरिएको थियो ।
प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि, प्रशिक्षकज्यूहरुलाई मायाको चिनो सभाध्यक्ष उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयका सचिव राजेन्द्र कुमार के.सी.ज्यू, विशिष्ट अतिथि नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठज्यू र उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक गोविन्द सिग्देलज्यूले प्रदान गर्नुभएको थियो ।