उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको सातौ प्रदेशसभा सम्पन्न !

उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको सातौ प्रदेशसभा सम्पन्न ! नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको सातौ प्रदेशसभा सम्पन्न भएको छ।  बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माको प्रमुख आतिथ्यमा प्रदेशसभा सम्पन्न भएको हो । 

प्रदेशसभाले नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको सातौं प्रदेश सभा वार्षिक प्रतिवेदन २०८० पारित गरेको छ । त्यस्तै आय व्यय विवरण लगायत अन्य विवरण पनि सभाले पारित गरेको छ ।

प्रदेशसभालाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठले बैंकको ब्याजदर घटेपनि व्यवसायीहरुसँग लगानीको लागि कन्फिडेन्स नभएको बताए। अध्यक्ष श्रेष्ठले बैंकले ब्याजदर घटाए पनि लगानीको वातावरण नभएको बताए। 

अध्यक्ष श्रेष्ठले बागमती प्रदेश व्यावसायिक हिसाबले ठूलो रहेको र यहाँको समस्याहरुलाई उजागर गरेर अगाडी बढ्न नसके व्यापार व्यवसायमा नै अप्ठेरो पर्ने बताए। जब समम निजी क्षेत्रको मनोबल दरो हुँदैन तबसम्म देशको अर्थतन्त्रमा गहिरो असर परिरहने उनले उल्लेख गरे । सरकार र राष्ट्र बैंकले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने खालको नीति ल्याउनु पर्ने उनले बताए । 

 उनले हिजो मात्रै बागमती प्रदेश कार्यालयको लागि आफ्नै भवन शिलान्यास गरिएकोमा खुसि व्यक्त गर्दै उनले भवन निर्माणको लागि सहयोग गर्न सम्पूर्णमा आग्रह गरेका छन् ।  उनले वागमती भित्र रहेका उद्योग वाणिज्य संघहरुलाई आर्थिक गतिविधि चलायमान बनाउन विभिन्न खालको एक्स्पो तथा मेला आयोजना पनि आग्रह गरेका छन् ।  

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले ३ वर्ष अगाडी राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको कारण अहिलेको समस्या आएको बताए। उनले अहिले उद्योग धन्दाहरु बन्द हुने अवस्थामा रहेको, व्यवसायीहरु ब्याज तिर्न नसक्ने अवस्थामा रहेकोले सरकारले के गरिरहेको छ भन्दै कार्यक्रममा प्रमुख अतिथि रहेका बागमती प्रदेश प्रमुखलाई प्रश्न गरेका छन्। उनले ब्याजदर अझै घट्नु पर्ने समेत उल्लेख गरेका छन् ।

उनले आगामी दिनमा बैंक र व्यवसायी मिलेर अघि बढ्नु पर्ने बताए । बैंक धरासायी हुँदा व्यवसायी हुने र व्यवसायी धरासायी हुँदा बैंक धरासायी हुने भएकोले बैंक र व्यवसायी मिलेर जानु पर्ने उल्लेख गरे । 

सरकारले लगानीको वातावरण नबनाउदा धेरै व्यवसायी विदेश पलायन भईसकेकोले सरकारले कसरी कर उठाउछ भन्दै प्रश्न गरेका छन् । उनले राजश्व नबढे विकास निर्माणको काम नै हुन नक्सने भन्दै देशमा लगानीको वातावरण बनाउन आग्रह गरे ।

अब कृषि मार्फत क्रान्ति गर्नु पर्ने भन्दै उनले त्यसको लागि कृषिको अनुदान नीति बदल्नु पर्ने बताए । हिजोको नीतिले अब काम नगर्ने भन्दै उनले युवालाई कृषिमा आकर्षण गर्न सोहि अनुसारको कृषि नीति ल्याउनु पर्ने बताए । फरक प्रसङ्गमा उनले महासंघको विधान संशोधन पनि हुने उल्लेख गरे ।  

कार्यक्रममा उद्योग वाणिज्य महासंघ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठले कमाएर खानेहरु प्रति राज्यको दृष्टिकोण नकारात्मक भएको बताएका छन् ।  राज्यलाई कमाएर दिने, राज्यलाई कर तिर्न पसिना बगाउनेहरुलाई राज्यले नकारात्मक दृष्टिले हेरेको उनले बताएका हुन् । व्यवसायीले नाफा कमाउनको लागि नै व्यवसाय गर्ने र कमाईबाट राज्यलाई कर पनि तिर्ने गरेको भए पनि राज्यले किन आफुहरुलाई नकारात्मक दृष्टिले हेरेको भन्दै उनले प्रश्न गरेका छन् । 

केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तह सबैले कर उठाउने भए पनि तिरेको कर अनुसारको सुविधा पनि व्यवसायीले पाउनु पर्ने उनले उल्लेख गरेका छन् । काठमाडौँका विभिन्न स्थानमा पार्किंगको व्यवस्था हटाउँदा त्यहाँका व्यवसायीको व्यवसाय घटेको उनले उल्लेख गरे। त्यस्तै उनले व्यवसायीलाई जेलमा थुन्ने कानुन पनि परिवर्तन गर्नु पर्ने उनले बताए । व्यवसायीसँग समबन्धित कानुन बनाउंदा व्यवसायीसँग पनि छलफल गरेर त्यस्ता कानुन आफुहरु मान्न तयार नहुने उनले चेतावनी दिए । कठिन समयरहेकोले व्यवसायीहरु एक भएर अगाडी बढ्नु पर्ने उनको भनाई छ ।